काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले संसद् विघटनको निर्णयविरुद्ध न्यायालयले उचित फैसला नगरे ओलीविरुद्ध सडकमा उत्रेका जनता सर्वोच्चविरुद्ध उत्रिन सक्ने खतरा रहेको औँल्याएका छन् ।
संसद् विघटनको विरोधमा माइतीघर मण्डलामा भएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्रीले संविधानविपरीत संसद् विघटन गरी श्री ७ शैली प्रदर्शन गरेको बताए ।
जनताले श्री ५ महाराजलाई सडकबाटै फालेको स्मरण गराउँदै उनले अब केपी ओलीलाई पनि जनताले सडकमा ल्याउने चेतावनी दिए । अब श्री ७ महाराजलाई पनि जनताले फाल्छन्,’ उनले भने, ‘सत्ताको उन्मादमा रहेको ओली सरकारलाई दण्डित गरेर संविधानको रक्षा गर्नु जनताको कर्तव्य हो ।’
प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभएको जिकिर गर्दै संविधान नै सर्वोपरी भएकोले संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको उनको भनाइ थियो । उनले भने, ‘संविधानको पालना र रक्षा गर्नु मतदाताको कर्तव्य हो ।
संसद् विघटनको मुद्दा सर्वोच्चमा रहेको बताउँदै त्यहाँबाट ओलीको कदमलाई रोक्ने आशा व्यक्त गरे । उनले भने, ‘अदालतले संविधानको रक्षा गर्छ भन्ने आशा गरेका छौँ ।’
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सो कदमपश्चात् नेपाली राजनीति घटनाक्रम फरकरूपले विकास हुँदै गइरहेको छ । यतिखेर प्रधानमन्त्रीले चालेको कदमविरुद्ध सत्तासीन दल नेकपाको एकधार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जसपा, साना दल र नागरिक समाज आन्दोलनरत छन् ।








प्रतिक्रिया