मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गुटमा खेलेर प्रचण्डले पार्टी फुटाउने धन्धा गरे : ईश्वर पोखरेल

गुटमा खेलेर प्रचण्डले पार्टी फुटाउने धन्धा गरे : ईश्वर पोखरेल


हेटौँडा । नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्डले नेकपामा अस्थिरता पैदा गरेको बताएका छन् । शनिबार हेटौँडामा आयोजित मकवानपुर जिल्ला भेलामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्डले तत्कालीन एमालेका गुटमा खेलेर प्रचण्डले पार्टी फुटाउने धन्धा गरेको आरोप लगाएका हुन् ।
 
उनले पार्टी एक हुँदादेखि नै चुनाव चिन्हबाट प्रचण्डले अस्थिरताको भ्रुण जन्माएको संकेत दिएता पनि तत्कालीन नेकपा एमालेले कम्युनिस्ट एकताको लागि चुनाव चिन्हमा अड्कन नहुने भन्दै सहेको बताए । तर, अस्थिरताको भ्रुण विकसित भएर प्रचण्डले यो स्थितिमा ल्याएको बताए । 
 
पोखरेलले तत्कालीन एमालेमा रहेको माधव नेपाल पक्षहरुले केपी ओलीको लोकप्रियता र कामप्रति अवरोध गर्ने काम गर्दै आए पनि एमाले बलियो अवस्थामा हुँदा प्रचण्डले नेकपा एकता भएपछि उक्त गुटगत विषयमा घुसपैठ गरेर माधव नेपाल पक्षको ढाडमा चडेर केपी ओलीको टाउकोमा प्रहार गर्न खोजेको बताए । 
 
पोखरेलले भने, ‘अहिले माधव नेपाल पक्षको कुण्ठा र प्रचण्ड पक्षको ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्तिको मिलन भएको हुँदा आधिकारिक नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा र चुनाव चिन्ह सूर्य नै हुन्छ ।’  
 
सरकार सञ्चालनमा दोस्रो बरियताका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री माधव नेपाल पक्षले जहिले पनि बखेडा झिक्ने गरेको पोखरेलले बताएका छन् । उनले सबै क्षेत्रमा केपी शर्मा ओलीलाई नेकपाको अर्को पक्षले असहज बनाएपछि बाध्य भएर जनतामा सामु न्यायको लागि गएको बताए । जनताले अब हुने चुनावमा अन्तिम फैसला गर्ने र यसको विकल्प नरहेको पोखरेलले दाबी गरेका हुन् ।
 
प्रचण्डले आरोपपत्र फिर्ता लिए एकताको कदम
 
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा एकता हुने अझै दुईवटा आधार देखाएका छन् । उनले प्रचण्डले पेश गरेको आरोपपत्र फिर्ता लिए एकताको कदम अगाडि बढ्न सक्ने बताएका छन् । 
 
पोखरेलले कार्यकर्तालाई प्रष्ट्याउँदै भने, ‘अझै पनि एकताको दुईवटा आधार छ एउटा प्रचण्डले लगाएको आरोपपत्र, जुन केपी ओलीको राजनीतिक जीवनमै धक्का लाग्ने खालको भ्रमित छ, अर्को आधार भनेको आरोपपत्र फिर्ता लिएर अब आउने चुनावमा एक भएर लड्ने, फेरि एकता गर्ने । नत्र मिल्ने अवस्था छैन ।’ 
 
कार्यक्रममा बाल्दै नेकपाका केन्द्रीय सदस्य काशिनाथ अधिकारीले निष्ठा र देश प्रेमको लागि राजनीति गर्दा प्रचण्ड–नेपाल पक्षले जनताको सपनामाथि तुषारापात गरेको बताए । 
 
उनले जनताले पाँच वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई काम गर्न जनमत दिए पनि गर्न नदिएकोले संसद् विघटनको अवस्थामा आइपुगेको बताए । उनले विधि र पद्धतिको कुरा गर्ने नेकपा प्रचण्ड–नेपाल पक्षले जनता र कार्यकर्तालाई धोका दिएको बताए ।  
 
यस्तै, नेकपाका केन्द्रीय सदस्य तथा युवा तथा खेलकुदमन्त्री दावा लामाले केपी ओलीको नेतृत्व छाडेर जाने प्रचण्ड–नेपाल समूहलाई नेकपाको भेलले भारत कटाइदिने दाबी गरेका छन् ।
 
मन्त्री लामाले केपी ओली नै मूलधारको नेतृत्व भएको बताए । उनले भने, ‘हाम्रो पितापुर्खाको भनाइ छ संकटमा नआत्तिनु, दुःखमा नमात्तिनु तपाईंहरु सतिसाल भएर उभिनु भएको रहेछ, अब मकवानपुरको यो कार्यकर्ताको भेलले ओली नेतृत्वको यो भेलले उहाँहरुलाई राप्ती खोलाको बोर्डरमात्र हैन, भारत कटाउँछ भारत मात्र हैन बंगालको खाडी पु¥याउँछ ।’ 
 
कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले जनताको बलबाट स्थापित लोकतन्त्र र संविधान बचाउनकै निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताए । कार्यक्रममा ओली पक्षधर नेकपाका केन्द्रीय नेतादेखि स्थानीयस्तरसम्मका नेताको आतिथ्यता रहेको थियो ।