मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन : राष्ट्रियसभा

प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन : राष्ट्रियसभा


काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन् । 
 
विशेष समयमा बोल्दै सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसमेतको परामर्शमा प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन भनेर आफूले जानेसम्मको भाषा लेखिएको विचार व्यक्त गरे ।   
 
उनले नेपालको संविधान २०४७ हेरेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने प्रश्न गर्दै नेपालको संविधानले प्रतिनिधिसभाको निरन्तरताको सिद्धान्त अँगालेको बताए । उनले विश्वको संसदीय प्रणालीलाई नियालेर हेर्न अनुरोध गर्दै क्यानडामा विशेषाधिकारले मात्रै विघटन गर्न सकिने भनेर लेखिए पनि एक सय वर्ष हुँदा पनि विघटन नभएको, फ्रान्समा सभामुखको परामर्शमा तथा पोर्चुगल र नेदरल्याण्ड्समा संसदीय दलको नेताका परामर्शले मात्रै विघटन हुने व्यवस्था रहेको अवगत गराए । 
 
नेपालमा छुट्टै व्यवस्था रहेको र प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमात्रै बल्ल प्रतिनिधिसभा विघटनतर्फ जाने व्यवस्था रहेको उनको भनाइ थियो । “संविधानलाई कसैले पनि शक्तिहीन बनाउनु हुँदैन, ताजा जनादेश माग प्रधानमन्त्रीको इच्छाबाट हुँदैन ।” 
 
अर्को प्रसङ्गमा उनले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गरेको र किसान–मजदूर अझै पीडित बन्दै गएको भनी चिन्ता पनि प्रकट गरे ।  
 
सांसद विमला पौडेलले राष्ट्रपतिविरुद्ध सडकमा लगाइएको नाराले सम्पूर्ण महिलाको शिर निहु¥याएको जनाउँदै त्यस विषयमा सम्बन्धित दलले माफी माग्नुपर्नेमा जोड दिइन् । समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमारसिंह यादवले प्रतिनिधिसभा विघटन औचित्यहीन रहेको जनाउँदै उक्त मुद्दा संवैधानिक इजलासमा पुगेको र त्यहाँ उचित निर्णय लिइने विश्वास व्यक्त गरे । अर्को प्रसङ्गमा सांसद यादवले उखु किसानको बक्यौता तुरुन्त भुक्तानीका लागि पहल गर्न सरकारलाई आग्रह पनि गरे ।
 
नेपाली कांग्रेसकी अनिता देवकोटाले सरकारले संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भङ्ग गरेको जनाउँदै सरकारले वैशाखमा कसरी निर्वाचन गर्न सक्छ भनी प्रश्न गरे । सांसद देवकोटाले ‘सरकारले प्रतिनिधिसभा फेस गर्न नसकेर’ संविधानको मर्म र भावनाविपरीत विघटन गरेको टिप्पणी गर्दै जनभावनानुसार काम गर्न नसकेको आरोपसमेत लगाइन् ।      
 
नेकपाका रामलखन चमारले लुम्बिनी र वीरगञ्ज चिनी मिलको निजीकरणपछि उखु किसानको समस्या जन्मिएको धारणा व्यक्त गर्दै पछिल्लो समयमा उद्योगीलाई कारवाही गर्ने, खाता रोक्ने र कारवाही गर्ने निर्णय गरेकामा सरकारलाई धन्यवाद दिए । यसबाट भुक्तानी दिने काम अघि बढे पनि प्रभावकारी नभएकामा चिन्ता व्यक्त गर्दै उनले करोडौँ रकम अझै भुक्तानी नगरिएकाले कारवाही अघि बढाउन सरकारसँग आग्रह गरे । 
 
नेकपाकै शेरबहादुर कुँवरले राजनीतिक दलभित्रका विवाद समस्या समाधानको थलो संसद् नभई दललाई नै बनाउनुपर्ने बताए । उनले पार्टीभित्रको आक्रोश पोख्ने थलो संसद् बनाउन नहुनेमा जोड दिँदै यही पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयले नेपालका कम्युनिस्ट पार्टीप्रति हेर्ने दृष्टिकोण नै फरक भएको भनी दुःख व्यक्त गरे ।