मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशीको डिजाइनमा धर्म निरपेक्षता र संघीयता : कमल थापा

विदेशीको डिजाइनमा धर्म निरपेक्षता र संघीयता : कमल थापा


हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीहरुको डिजाइनअनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिवेश बनाउनको निमित्त धर्म निरपेक्षता लादिएको बताएका छन् ।
 
हेटौँडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री थापाले ०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर आफू गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पारे। 
 
विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको भन्दै थापाले संसद् विघटनको घटनाबाट मुकुक थप जटिलतातर्फ फसेको बताए । अब यसलाई अवसरको रुपमा सदुपयोग गर्न त्रुटिपूर्ण मार्गचित्र सच्याउने हिम्मत र साहस आवश्यक भएको थापाको भनाइ थियो ।
 
उनले भने,  ‘क्रान्तिको नाममा बन्दुक बोक्न लगाउनेहरु आज कहाँ छन् ?, बन्दुक बोक्नेहरु कहाँ छन् ?’  थापाले लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको भन्दै एक आपसमा सर्वसत्तावादीको आरोप प्रत्यारोप गर्ने कम्युनिस्टहरुको उत्पादन नै खराब बीउबाट भएका बताए । 
 
उनले उखान हाल्दै भने, ‘हिजो राम्रो बीउ रोप्न नसकेको कारण आज फल खराब फलेको हो,  धतुरो रोपेर कहिल्यैे आँप फल्छ ?’ 
 
कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य मधु अधिकारीले अदूरदर्शी, असक्षम र भ्रष्ट नेतृत्वबाट मुलुकअघि बढ्न नसक्ने भन्दै राप्रपालाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।