चितवन । नेकपा दुई समूहमा विभाजित बनेपछि नेता कार्यकर्ता पनि विभाजित बनेका छन् । पछिल्लो समय एकले अर्काको चर्को आलोचना गर्दै भाषण र वक्तव्यबाजी गर्नु सामान्य विषय भइसकेको छ ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरेसँगै विवादै विवादले घेरिएको नेकपा विभाजित बनेको हो । विभाजित बनेसँगै पूर्वमाओवादी निकटका केही नेता केपी ओलीतिर लागे भने केपी ओली अर्थात पूर्वएमालेका धेरै नेता प्रचण्ड नेपाल समूहतिर लागे ।
प्रचण्ड समूहमा पूर्वएमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालदेखि प्रभावशाली नेता लाग्दा पूर्वमाओवादीका बादल अर्थात हालका गृहमन्त्री रामबहादुर थापा भने ओलीतिर लागेका हुन् ।
उनी ओलीतिर लाग्नुको कारण पदकै लोभ भएको बताइएको छ भने उनको निर्णयबाट गृहजिल्ला चितवनका नेता कार्यकर्ता निकै आक्रोशित बनेका छन् ।
सोमबारमात्रै चितवनमा आएका उनलाई कार्यकर्ताले कालो झन्डा देखाएका छन् । भरतपुर विमानस्थल परिसरमा कार्यकर्ताले बादल लाल गद्धार असंवैधानिक कुका मतियार लेखेको व्यानरसहितको बेलुन उडाएर विरोध गरेका हुन् ।
भरतपुरको हाकिमचोकमा उनलाई कालोझण्डा पनि देखाइएको थियो । उनी ओली गुटको कार्यक्रममा सहभागी हुन आएका हुन् भने प्रचण्ड समूहले पनि छुट्टै कार्यक्रम राखेको छ। बादल गृहजिल्लामा निकै कमजोर बनेका छन् ।
यसैबीच, गृहमन्त्री तथा नेकपा ओली पक्षका नेता रामबहादुर थापा बादलले आफू फुटको विरोधमा र एकताको पक्षमा रहेको बताएका छन् ।
चितवनमा भएको अगुवा कार्यकर्ता भेलामा गृहमन्त्री बादलले भने, ‘म पार्टी एकताको पक्षमा छु । अब चुनावको विकल्प छैन ।’ उनले हिजो पार्टी पोखरीजस्तो बनेको र आज पार्टी नदीजस्तो बगेको दाबी गरे । एजेन्सी








प्रतिक्रिया