मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने व्यवस्था नभएको जिकिर

बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने व्यवस्था नभएको जिकिर


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देवले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपालको संविधानमा विशेष अवस्थामा मात्र प्रतिनिधिसभा विघटनको व्यवस्था राखिएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको राष्ट्रियसभाको बैठकमा उनले बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको जिकिर गरे । 
 
उनले राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभाबाटै सरकार गठनका विभिन्न विकल्प राखिएको बताउँदै पार्टीभित्रको समस्यालाई देशको समस्या बनाउन नहुने धारणा राखे ।
प्रतिनिधिसभा विघटनको विषय अदालतमा विचाराधीन भएकाले आफ्नो पार्टीले यस विषयमा धेरै नबोल्ने उनले बताए ।
 
उनले कोरोना भाइरस सङ्क्रमणका क्रममा आर्थिक सङ्कटका अवस्थामा मध्यावधि निर्वाचन घोषणा हुनु मुलुकको हितमा नभएको बताए । छिमेकी मुलुकबाट पछिल्लो समयमा भएको चलखेलले मुलुकको राष्ट्रियता बलियो नहुने पनि उनले बताए । उनले सरकारले आफ्ना विपक्षी नेताको फोन ट्याप गर्न लागेको भनी आएको समाचारका सम्बन्धमा जवाफ माग गरे । 
 
अध्यादेशमा संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी व्यवस्था राखिएको आरोप लगाउँदै उहाँले त्यसको खारेजीको माग गरे । उनले उखु किसानका समस्याको  दिगो समाधानका उपाय खोज्न सरकारलाई सुझाव दिए । परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र जनस्रोत नीतिका बारेमा सबै दल र सरोकार पक्षसँग छलफल गरेर साझा धारणा बनाउन पनि उनले सरकारलाई सुझाव दिए । 
 
जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदम असंवैधानिक भएको जनाउँदै राष्ट्रपतिले यस विषयमा सुझबुझपूर्वक काम गर्न नसकेको आरोप लगाइन् । उनले प्रतिनिधि पुनःस्थापनाको माग पनि गरिन् । 
 
किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको, मुलुकमा भ्रष्टाचार बढेको र संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएको आरोप लगाउँदै उनले त्यसको खारेजीको माग गरे । रासस