मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य हो : सभापति देउवा

जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य हो : सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्बर्द्धनका लागि कांग्रेसको काँधमा प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।     
 
राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको स्पष्ट पारे ।  
    
 
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनले जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य भएको स्पष्ट गरे । कांग्रेस संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गरेको दिन पुस १६ गतेका अवसरमा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।      
 
सो अवसरमा सभापति देउवाले भने, “बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिएको नीति आज पनि उत्तिकै सान्दर्भिक छ । मेलमिलाप नीतिको मूल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियो, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो हो ।”
 
बीपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राखेको बताउँदै उनले लोकतान्त्रिक अधिकार शान्तिपूर्ण ढंगले जनतालाई दिलाउन लिएको नीतिकै जगमा २०४६ सालको परिवर्तन भएको स्मरण गरे ।     
 
“मेलमिलापको नीतिले राजालाई पनि ठीक ठाउँमा ल्याउन खोज्यो तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लियो, बीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट नेता गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिंँडेका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो”,  उनले भने । रासस