मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोकियोमा संक्रमित बढेपछि संकटकाल लगाउने विषयमा छलफल

टोकियोमा संक्रमित बढेपछि संकटकाल लगाउने विषयमा छलफल


टोकियो । जापानको राजधानी टोकियोमा मात्रै कोरोनाभाइरसबाट बिहीबार एकैदिन थप १३ सय जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको सङ्ख्या यसैगरी वृद्धि हुँदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् । 
 
प्रधानमन्त्री योशिहिडा सुगाले संकटकाल लगाउन आवश्यक छ कि छैन भन्ने बारेमा सम्बन्धित मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेका छन् । बिहीबार बेलुका भएको छलफलबाट तत्काल संकटकाल लगाउने निर्णय भने भइनसकेको उनले बताए । तर, संकटकाल लगाउनुपर्ने अवस्था आउन सक्ने बारेमा भने छलफलमा सहभागीहरुले बताएका थिए । 
 
बैठकपछि पत्रकारहरुसँग प्रधानमन्त्री सुगाले भने, “अहिलेसम्मको अवस्था हेर्दा सङ्क्रमणको दर बढ्दो छ, यो धेरै गम्भीर अवस्था हो ।” उनले सबै नागरिकलाई मास्क लगाउन, सावुन पानीले हात धुन, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न पनि आह्वान गरेका छन् । 
 
स्थानीय सरकारसँग मिलेर प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न पनि उनले सरोकारवालाहरुलाई निर्देशन दिएको जनाइएको छ । जापानको राजधानी टोकियोमा मात्रै एकैदिनमा एक हजार ३३७ जना सङ्क्रमित थपिएको विवरण सार्वजनिक भएलगत्तै प्रधानमन्त्री सुगाले थप सक्रियता र चिन्ता देखाएका हुन् ।  
 
यो दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको जनाइएको छ । यसअघि सवैभन्दा धेरै गत शनिबार ९४९ जना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय सञ्चार माध्यमहरुले देशभर दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या चार हजारभन्दा बढी रहेको जनाएका छन् ।
 
टोकियोका गभर्नर युरिको कोइकेले पनि सङ्क्रमितको सङ्ख्या तीब्र रुपमा बढ्दै गएकाले अहिलेको अवस्था चिन्ताजनक हुदै गइरहेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आह्वान गरेका छन् । उनले भने, “यो अति गम्भीर अवस्था हो, त्यसतर्फ हामी सबै सतर्क हुनुपर्दछ, अहिले नयाँ वर्ष मनाउने वा रमाइलो गर्ने अवस्था छैन ।” 
 
कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने भएकाले भीडभाड नगर्न र घर बाहिर ननिस्कन पनि उनले सबैलाई आग्रह गरेका छन् । जापानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म तीन हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । एजेन्सी