नेपाल

संसदीय शासन पद्धतिमा प्रधानमन्त्रीको चुनाव सिफारिस जायज : डा. भट्टराई

संसदीय शासन पद्धतिमा प्रधानमन्त्रीको चुनाव सिफारिस जायज : डा. भट्टराई


काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले देश निर्वाचनको वातावरणमा गइसकेको बताएका छन् । 
 
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संसदमा बहुमतप्राप्त प्रधानमन्त्रीको घोषणानुसार निर्वाचन हुने भएकाले राज्यका सबै संयन्त्र निर्वाचनको तयारीमा लागेको बताए ।  
 
 “सत्तापक्ष र प्रतिपक्ष पनि निर्वाचनको तयारीमा लागेका छन्, प्रमुख प्रतिपक्षले निर्वाचनको तयारीकै लागि निर्वाचन क्षेत्र केन्द्रित गरेर १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गरेको छ, अब निर्वाचन हुँदैन कि भन्ने आशङ्कामा नजाऔँ, सबै निर्वाचनको तयारीमा लागौँ”, नेकपाका नेता डा भट्टराईले भने ।
 
निर्वाचन आयोगले तयारीका लागि १२० दिन चाहिने भनेकामा त्यसभन्दा बढी समय दिएर घोषणा गरिएकाले पनि समय पुग्दैन भन्ने प्रश्न नै नआउने डा भट्टराईको विचार थियो । बेलायत, भारतलगायत संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीले चुनावको सिफारिस गर्दा जायज हुने तर नेपालमा नहुने होइन भन्दै उनले अहिलेको परिस्थितिमा चुनावको विकल्प नरहेको स्पष्ट गरे । 
 
नेपालको मूलधारका कम्युनिष्ट पार्टीको आन्दोलन रुस, चीन कसैका पनि पक्षमा नलागी नेपालकै परिवेशका आधारमा अघि बढेकाले हालै आएको चिनियाँ पक्षबाट यहाँको राजनीति प्रभावित नहुने उनको भनाइ थियो । चिनियाँ पक्ष निर्णय लाद्न नभई यहाँको परिस्थिति बुझ्नमात्र आएको डा भट्टराईले बताए । 
 
केही संवैधानिक विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसलाई प्रभावित बनाउने गरी कसैले पनि गतिविधि गर्न नहुने उनको आग्रह थियो । जिम्मेवार नेताहरुले सभ्य भएर विचार राख्नुपर्नेमा पनि डा भट्टराईले जोड दिए । रासस