मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन

कांग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन


काठमाडौँ । नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय समितिको यही पुस ९ गतेको बैठकले १६५ संघीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको थियो ।   
  
देशव्यापी विरोध प्रदर्शनका क्रममा आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा विभिन्न नेताले सम्बोधनका क्रममा प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको तर्क गरे  ।  
  
प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ नंको नयाँ बानेश्वर चोकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, २ नंको कोटेश्वर चोकमा प्रवक्ता विश्वप्रकाश शर्मा, ३ नं को जोरपाटी चोकमा केन्द्रीय सदस्य पूर्वमन्त्री अम्बिका बस्नेत, ४ नं को नारायणचौर नक्सालमा प्रदेशसभा सदस्य नरोत्तम वैद्य र राधा घले तथा ५ नंको नारायणगोपालचोक महाराजगञ्जमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गरेका थिए ।  
 
यसैगरी निर्वाचन क्षेत्र नं ६ को  मनमैजु लोकतान्त्रिक चोकमा पूर्वमन्त्री भीमसेनदास प्रधान र काठमाडौँ कांग्रेसका सभापति कृष्ण बानियाँ, ७ नं को बालाजु चोकमा नेताहरु मुकुन्द रिजाल र प्रमोदहरि गुरागाईं, ८ नंको वसन्तपुर डबलीमा पूर्वमन्त्री नवीन्द्रराज जोशी, ९ नंको कलङ्की चोकमा पूर्वसांसद ध्यानगोविन्द रञ्जित र १० नं को कीर्तिपुर बजारमा निवर्तमान पूर्वमन्त्री राजेन्द्रकुमार केसीलगायतले सम्बोधन गरेका थिए ।  
 
सबै क्षेत्रका विभिन्न स्थानबाट पार्टीका नेता तथा कार्यकर्तासहितको जुलुससभामा परिणत भएको थियो । निर्वाचन क्षेत्र नं १ को प्रदर्शनपछि विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीले आफ्नो पार्टीभित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर संसद् भङ्ग गरेको आरोप लगाए ।  
  
उनले प्रधानमन्त्री ओलीले दुई तिहाइ मतको कुरा गरे पनि जनप्रतिनिधिबाट विश्वासको मत लिने आँट गर्न नसकेको टिप्पणी गरे । सरकारले जनताले पाँच वर्षका लागि दिएको जनादेशानुसार काम गर्न नसकेको र भ्रष्टाचार पनि रोक्न नसकेको नेता सिंहको भनाइ थियो ।   
 
कांग्रेस चुनावबाट भाग्न चाहँदैन   
 
नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको बताएका छन् । 
प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।” 
  
प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको वर्तमान राजनीतिको विविध पक्षमाथि प्रकाश पारे ।    
 
जस्तोसुकै परिस्थिति सामना गर्न कांग्रेस तयार   
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले मुलुकमा आउने जस्तोसुकै राजनीतिक परिस्थितिको सामना गर्न कांग्रेस तयार रहेको बताएका छन् । कांग्रेस कञ्चनपुर निर्वाचत क्षेत्र नं ३ ले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको विरोध कार्यक्रममा उनले भने, “कम्युनिष्ट पार्टीको घर झगडाका कारण प्रतिनिधिसभा विघटन हुन पुगेको छ ।”   
 
नेता लेखकले सरकार सञ्चालनमा अन्तरसत्ता सङ्घर्षका कारण यहाँसम्मको स्थिति आइपुग्यो भन्दै दुई तिहाइ जनमत पाउँदा पनि मुलुकमा स्थिरता आउन नसकेको बताए ।   
 
यसैगरी कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा आयोजना गरेको विरोध कार्यक्रममा  कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले कम्युनिष्ट पार्टीका कारण मुलुकको राजनीति गम्भीर अवस्थामा पुगेको बताए । “सरकारले पाँच वर्षको कार्यकाललाई तीन वर्षमै टुङ्ग्याएर निर्वाचन घोषणा गरेको छ”,  उनले भने, “संविधान कार्यान्वयन भएन भने अवस्था जटिल हुन सक्छ ।”