काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा जान लागेको बताएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध देशभर विरोधमा उत्रिएको कांग्रेसको तनहुँको सभालाई सम्बोधन गर्दै नेता पौडेलले संविधानको अक्षर र भावनामाथि राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा प्रहार गरेको बताए ।
पौडेलले भने, “राष्ट्रपतिज्यू, तपाईंले संविधान संरक्षणको जिम्मेवारी निभाउनुस्, कानुन र विधिका बेत्तासँग परामर्श गर्नुस् भनेर मैले भनेको थिएँ, तर उनले सुनिनन् । एकघन्टा पनि नपर्खि प्रतिनिधिसभा समाप्त पारिन् ।”
“अझै पनि सर्वोच्च अदालत छ, हामीलाई दुर्घटना हुन नदिन, संघर्षको बाटोमा जान नदिन अब अदालतले सक्छ,” पौडेलले भने, “म सर्वोच्चका न्यायमुर्तिहरुसँग जिकिर गर्न चाहन्छु, यो संविधानको अक्षर, भावना र विधिदाताको मनसाय बुझेर फैसला गरिदिनुस् । मेरो अनुरोध छ ।”
उनले प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन मात्र नगरेको सँगसँगै जनप्रतिनिधिले प्रधानमन्त्री छान्ने र विश्वास दिने वा फिर्ता लिने अधिकारको पनि अपहरण गरेको बताए ।
उनले प्रधानमन्त्री र राष्ट्रपति दुवैले देशमाथि अपराध गरेको भन्दै भोलि आउने परिस्थितिको जिम्मेवारी लिने अवस्थासमेत उनीहरुमा नरहेको बताए ।
“प्रधानमन्त्री र राष्ट्रपतिबाट नेपाली समाज, लोकतन्त्र र मुलतः यो देशको संविधानमाथि ठूलो अपराध भएको छ,” पौडेलले प्रश्न गरे, “केहीले चुनाव त भयो नि, तोकिएको मितिमा चुनाव भएपछि लोकतन्त्रको अभ्यास अझ बढी हुन्छ भन्ने तर्क गर्ने गरेका छन् । यो देशको संविधान विघटन भयो, यो देशको गणतन्त्र विघटन भयो भने चुनाव हुन्छ रु भइहाल्यो भने पनि त्यस्तो चुनावको कुनै अर्थ हुन्छ ?”
उनले अहिलेको अवस्थाले गम्भीर र अनिश्चित भविश्यको त्रास बढाएको बताए । “यो मुलुकमा प्रतिनिधिसभा पनि पुनःस्थापना नहुने, अनि निर्वाचन पनि नहुने अवस्था आयो भने त्यस्तो अवस्था कसले सम्हाल्छ ?,” पौडेलले प्रश्न गरे । पौडेलले विधिको स्थापनाका लागि र रक्षाका लागि अग्रजहरुले कांग्रेस बनाएको भन्दै नेपाली जनताले पनि संविधान, लोकतन्त्र र विधिको रक्षाका लागि कांग्रेसलाई विश्वास गरेको बताए ।
“हामी हाम्रो संविधान बनाउने क्षमता राख्छौँ, र राख्नुपर्छ,” पौडेलले नेतृत्वतर्फ संकेत गर्दै भने, “देश र जनतालाई लोकतन्त्र, संविधान जोगाउने कांग्रेस चाहिएको हो, अरुसँग साँठगाँठ गर्ने कांग्रेस होइन ।” उनले नेपाली कांग्रेसलाई पनि ठिक राखेर नेपालको स्वाधिनता र अस्मिता बचाउने, लोकतन्त्रलाई समृद्ध बनाउने जिम्मेवारी आम कांग्रेसीमा आएको बताए ।












प्रतिक्रिया