मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ जनादेशमा जानुको विकल्प छैन : मन्त्री रायमाझी

नयाँ जनादेशमा जानुको विकल्प छैन : मन्त्री रायमाझी


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तर विरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताएका छन् ।  

ललितपुर क्षेत्र नं १ मा शनिबार आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका दुवै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुनेछ भने । “यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो । हामी मिलेर पार्टी एकताको पहल गरौँ”, प्रचण्ड–नेपाल समूहतर्फ ईङ्कित गर्दै उनले भने, “अन्तर विरोधको हलतिर लागौँ । हामी तपाईहरुलाई अझै साथ दिन तयार छाँै । यदी हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानुबाहेक अन्य विकल्प रहेको छैन् ।” 

मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रममाभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिधाउन खाजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताए । उनले भने, “आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिस गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो ।” 

नेकपाका केन्द्रीय सदस्य सुशिला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ भने ।  अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको बिवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गरे । 

नेकपाका केन्द्रीय सदस्यहरु नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा र मधुसुदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गरे । रासस