मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँमा यस वर्षकै बढी चिसो महसुस

काठमाडौँमा यस वर्षकै बढी चिसो महसुस


काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस  थियो ।  

अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । ‘राति आकाश खुला भए बिहानको तापक्रम घट्ने र राति बदली भए तापक्रम बढ्ने हुन्छ’, उनले भने । यसवर्ष काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान रहेको छ ।

विभागले सूचना  जारी गर्दै चिसो रहरिहने तथा तराई/पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरोका कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।

विभागको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको थियो । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री र सबैभन्दा धेरै धनकुटाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।