मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

अदालतले संविधानको मर्म, जनचाहनाअनुसार फैसला गर्नेछः प्रचण्ड

अदालतले संविधानको मर्म, जनचाहनाअनुसार फैसला गर्नेछः प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले निर्वाचन आयोगबाट आधिकारिकता पाउने जिकिर गरेका छन् ।  यही पुस ७ देखि ९ गतेसम्म चलेको तेस्रो केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको केन्द्रीय कमिटीका बहुमत सदस्य आफूहरुतिर भएको जनाउँदै आफूहरुले नै आधिकारिक मान्यता पाउने बताए । 

“तेस्रो केन्द्रीय कमिटी बैठकमा ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ जनाको समर्थन र उपस्थिति रहेको छ”, उनले भने, “संविधान, दलसम्बन्धी ऐन, नियम हेरेर अत्यधिक बहुमत भएकाले पार्टीको नाम, झण्डा र निर्वाचन चिह्न पाउनेमा विश्वस्त छौँ ।” नेकपाले आजै ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुुनाव चिह्न आफूूले पाउनुपर्ने माग गरी निर्वाचन आयोगमा ज्ञापनपत्र दिएको थियो । 

Advertisement

पार्टीको दुई तिहाइ केन्द्रीय सदस्यको उपस्थिति भएको पार्टीले आधिकारिकता पाउनेमा कुनै दुईमत नभएको जनाउँदै उनले भने, “दलसम्बन्धी ऐन, कानुनमा भएको व्यवस्थाबमोजिम निर्वाचन आयोगले निर्णय गर्नेमा विश्वस्त छौँ, आयोगप्रति हाम्रो पूर्ण भरोसा छ ।” 

आयोगका पदाधिकारीसँगको छलफलका क्रममा पार्टीको विधान, स्थापित नजीर र प्रचलित कानुनका आधार आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढङ्गबाट न्याय निरुपण गरिने विश्वास दिलाएको उनले जानकारी दिए । 

उनले संविधानमा हुँदै नभएको प्रावधान देखाएर प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै अध्यक्ष दाहालले भने, “संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधान विघटन गर्ने अधिकार दिएको छैन ।” प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्दा नेपालको राजनीति जटिल मोडमा पुगेको उनको भनाइ थियो । 

प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले बदर गर्नेमा आफूहरु पूर्ण विश्वस्त रहेको जनाउँदै उनले अदालतप्रति आफूहरुको पूर्ण भरोसा रहेको बताए । “अदालतप्रति भरोसा छ, अदालतले संविधानको मर्म, भावना र  जनताको चाहनाअनुसार फैसला गर्नेछ”, उनले भने । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा आजैदेखि आन्दोलनमा गइसकेको उल्लेख गर्दै उनले पहिलो चरणको आन्दोलनले संसद् पुनःस्थापना नगरे फेरि अर्को सङ्घर्ष गर्ने चेतावनी दिए । 

‘सरकारलाई सक्दो सहयोग गरेँ’

पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन आफूहरुले पार्टी एकता गरेको स्मरण गर्दै सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सक्दो सहयोग गरिएको बताए । उनले मुलुकमा स्थिर सरकार बन्नुपर्छ भनेर आफूले आलोपालो प्रधानमन्त्री हुने सहमतिलाई पनि छाडेको बताए । उनले भने, “मैले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर उनलाई पाँचै वर्ष सरकार चलाउन सहयोग गरेँ ।”

पदमा हुने व्यक्ति विनम्र हुनुपर्छः नेपाल

अर्का अध्यक्ष माधवकुमार नेपालले पदले व्यक्तिमा अहङ्कार पैदा गर्ने गरेको बताए । “पदमा भएपछि जो कोही पनि विनम्र हुनुपर्छ”, उनले भने, “नेपालको कम्युनिष्ट एकता र आन्दोलनले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको थियो ।”

आधिकारिक नेकपा आफूहरु नै भएको र  पार्टीको सबै सम्पत्ति पनि आफूहरुको भएको उनले बताए ।“नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै सम्पत्ति हाम्रो हुनेछ” । 

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन धेरै प्रयास गरिए पनि  हठका कारण सम्भव नभएको बताए । “पार्टीमा देखिएका विवाद समाधान गर्न हामीले बारम्बार उहाँलाई बैठक बसौँ भन्यौँ”, उनले भने, “तर अध्यक्ष ओली बैठकमा बस्न चाहनुभएन ।” उनले पार्टी विभाजन नभएको र कोही व्यक्ति असन्तुष्ट भएर चोइटिएको हुन सक्ने टिप्पणी गरे । रासस

शेयर गर्नुहोस:

0
Shares