मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसद् विघटन प्रधानमन्त्रीको लोकतान्त्रिक अधिकार : मुख्यमन्त्री गुरुङ

संसद् विघटन प्रधानमन्त्रीको लोकतान्त्रिक अधिकार : मुख्यमन्त्री गुरुङ


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस लोकतान्त्रिक अधिकार रहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ गण्डकीले आज पोखरामा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै उनले संसद् विघटन सबैभन्दा लोकतान्त्रिक, संवैधानिक र गणतन्त्रात्मक कुरा रहेको जिकिर गरे ।  

उनले भने, “बहुदलीय शासन प्रणालीमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई जनताले दिएको म्याण्डेटअनुुसार काम गर्ने वातावरण रहेन भने प्रधानमन्त्रीले नयाँ जनमतका लागि संसद् भङ्ग गरेर निर्वाचन घोषणा गर्न सक्दछ, यो संसदीय मूल्य र मान्यताको कूरा हो ।”

नेता गुरुङले संसदीय प्रणालीमा प्रधानमन्त्रीले गरेको सिफारिस लोकतान्त्रिक र संविधानअनुसार हुने भएकाले अब संसद् पुनःस्थापना हुनै नसक्ने दाबी गरे । सरकार चलाउन आफ्नै दलबाट घेराबन्दी गरेर जनताले दिएको मतको अपमान गर्ने परिपाटी अन्त्य गर्नका लागि प्रधानमन्त्री ओलीले जनताबाट फैसला गराउन चाहेको उनको भनाइ छ । 

नेकपा ओली समूहका नेता महेश बस्नेतले जनतामा गएर मत लिने कुरालाई गलत अर्थ लगाउन नहुने भन्दै सरकारको घोषणालाई अदालतले समेत साथ दिने विश्वास व्यक्त गरे । अर्का नेता खगराज अधिकारीले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन भई छाड्ने बताउँदै युवालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए ।

राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेलले शीर्ष नेताका असहयोग र घेराबन्दीका कारण केपी ओली नेतृत्वको सरकारले अप्ठ्यारोमा पार्ने काम भएको उल्लेख गरे । युवा भेलाअघि पोखराको अमरसिंह चौरबाट सुरु भएको मोटरसाइकल ¥याली पोखरा सभागृहमा आएर सभामा परिणत भएको थियो । रासस