मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भीमफेदीदेखि काठमाडौँसम्म गाडी बोक्ने घलानको निधन

भीमफेदीदेखि काठमाडौँसम्म गाडी बोक्ने घलानको निधन


टिस्टुङ । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ । 

दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र हुनुहुन्थ्यो । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए । 

जीवनभर २५ गाडी बोक्नुभएका घलानले विसं २००६ देखि नै गाडी बोक्न सुरु गरेका थिए । उनले ९६ जनाले बोक्ने गाडी एकपटक मात्रै बोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए । राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए । 

आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाएका थिए । एक वर्षदेखि पक्षाघातले थलिएका उनी घरमै बसेर आराम गरिरहेका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।