मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्वाचन सबैको लोकप्रियता परीक्षण गर्ने अवसर : प्रधानमन्त्री ओली

निर्वाचन सबैको लोकप्रियता परीक्षण गर्ने अवसर : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन सबैलाई आग्रह गरे ।  

प्रधानमन्त्री हुन हतार गरेका सत्तारुढ दलभित्रका नेतालाई लोकप्रियताको परीक्षण र प्रतिपक्षी दल सबैलाई आआफ्ना कार्यसूची जनतामा लाने अवसर मिल्ने उनले बताए । उनले भने, “जनादेशप्राप्त सरकारले आफ्नो काम गर्न पाउँदैन भने यसको न्यायको फैसला गर्ने थलो निर्वाचन नै हो । राज्य सञ्चालनको अन्तिम निर्णय जनताले गर्ने हो । जस्केलाबाट सरकारमा छिर्ने अलोकतान्त्रिक तरिका ठीक होइन । राजनीतिक स्थिरताका लागि निर्णायक तत्व आमनिर्वाचन हो । त्यसकारण म प्रतिनिधिसभा विघटन गरी ताजा जनादेश गराउने स्थितिमा पुगेको हुँ ।”

उनले राष्ट्रियसभा, प्रदेश सरकार र स्थानीय तह कायम रहेको तथा राज्यका सबै अङ्गले आआफ्नो कर्तव्य निर्वाह गरिरहेकाले अहिले मुलुक जनप्रतिनिधिविहीन अवस्थामा नरहेको जनाउँदै लोकतन्त्रको रक्षाका लागि एकताबद्ध भई निर्वाचनमा जुट्न युवा पुस्तालाई पनि आह्वान गरे । नेकपाभित्रका केही नेताप्रति सङ्के्त गर्दै उनले प्रश्न गरे, “सरकारविरुद्ध यसरी घेराबन्दी र दाउपेच गर्नुपर्ने अवस्था किन आयो ? सरकारले भारतसँग सीमा समस्या समाधानका लागि वार्ताको तयारी गरेको र चीनसँग भएका व्यापार र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम आरम्भ गरेकामा सहयोग गर्नुपर्ने होइन र ?” 

उनले विषम स्थितिका बीच नेपालले विकासका काममा प्रगति हासिल गरेको जनाउँदै शान्तिसुरक्षा, सुशासन र अन्य क्षेत्रमा प्राप्त सकारात्मक काममा सहयोग हुनाको साटो सधैँभरि सत्ता र पदीय भागबण्डा हुनु र सरकारविरुद्ध सत्तापक्षका नेता प्रतिपक्षीभन्दा बढी आक्रामक हुनुले ताजा जनादेशमा जानुपरेको बताएका छन् । 

नेकपाका अध्यक्ष ओलीले सरकारविरुद्ध भएका चलखेलका काम तथा संसद्लाई बन्दी बनाउने प्रयास कुनै पनि अर्थमा लोकतान्त्रिक हुन नसक्ने बताए । उनले पार्टीलाई एकताबद्ध बनाउने, विधिरुपमा नेतृत्व हस्तान्तरण गर्ने र सरकार तथा संसद्लाई विधिसम्मत चलाउने आफ्नो योजना असफल बनाइएकाले प्रतिनिधिसभा विघटन हुन पुगेको स्पष्ट गरे । यही पुस ५ गते प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाका लागि नयाँ निर्वाचन मिति तोकिएको छ । रासस