मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महाधिवेसन गराएर कांग्रेसलाई विश्वासिलो पार्टी बनाउनुपर्छ : डा महत

महाधिवेसन गराएर कांग्रेसलाई विश्वासिलो पार्टी बनाउनुपर्छ : डा महत


चितवन । नेपाली कांग्रेसका नेता डा रामशरण महतले महाधिवेशन गराएर कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताएका छन् । कांग्रेस चितवनले आज आयोजना गरेको विरोधसभामा उनले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिए । 

उनले भने, “निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ ।” कांग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उनको भनाइ थियो । 

सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उनले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताए । उनले भने, “जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ ।” 

कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीलगायतले बोलेका थिए । अपराह्न १२ः३० बजे भरतपुरको चौबीसकोठीबाट सुरु भएको ¥याली पुल्चोक पुगेर विरोधसभामा परिणत भएको थियो ।

यसैबीच, कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले वर्तमान सरकारलाई काम गर्नका लागि जनताले बहुमत दिए पनि त्यसको दुरुपयोग भएको बताएका छन् ।  सदरमुकाममा आयोजित पार्टीको विरोधसभामा उनले विगतका ठूला राजनीतिक उपलब्धि संस्थागत गर्ने काम कांग्रेसले गरेको जिकिर गर्दै अबको जिम्मेवारी पनि कांग्रेसले नै गर्ने बताए । कार्यक्रममा पूर्वसांसद केशव थापाले पछिल्लो समय विभिन्न प्रकरणमा सरकार जोडिएको जनाउँदै अब विकल्प सोच्नुपर्ने बाध्यता रहेको बताए । कांग्रेसले सरकारको विरोधमा प्ले कार्डसहितको ¥याली निकालेको थियो । 

यसैगरी, प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले कांग्रेसले लोकतन्त्रको संरक्षणका लागि  निरन्तर रुपले अघि बढ्ने तथा विकृतिविसङ्गतिको विरोधमा सदैव खबरदारी गर्ने बताए । सदरमुकाम धुञ्चेमा आयोजित विरोधसभामा प्रदेशसभा सदस्य प्रेम तामाङ, कांग्रेस पूर्वजिल्ला सभापति लामाकार्पु तामाङ, जिल्ला समिति सदस्य जनकजीवन उपाध्याय, उपेन्द्र लम्साल, राजु तितुङलगायतले विरोधसभामा सम्बोधन गरेका थिए । रासस