मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

चन्द समूहले शिक्षकको हत्या गरेपछि सुरक्षा सतर्कता बढाउन निर्देशन

चन्द समूहले शिक्षकको हत्या गरेपछि सुरक्षा सतर्कता बढाउन निर्देशन


काठमाडौँ । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो ।

प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले भने, “पहिलेदेखि लागू हुँदै आएको सुरक्षा योजनालाई अझै कडाइका साथ पालना गर्न भनिएको छ, सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिने गरी निर्देशन भएको छ ।” 

Advertisement

यही मङ्गलबार मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको बर्बतापूर्ण तरिकाले हत्या भएको थियो । उक्त हत्यामा नेत्रविक्रम चन्द समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

घटना भएको भोलिपल्ट बुधबार गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा प्रमुखसँग ‘सुरक्षा ब्रिफिङ’ लिएको थियो । उक्त ब्रिफिङ नियमित भएको गृह प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यसअघि सो समूह विभिन्न भौतिक संरचनालाई क्षति पु¥याउन विष्फोट गराउने क्रियाकलाप गर्नमा बढी उद्यत थियो । उपत्यकामा बम पड्काउने क्रममा केही सर्वसाधारण र केही आफ्नै कार्यकर्तासमेत मारिएका थिए ।

गतिविधि आपराधिक हुन थालेपछि सरकारले विसं २०७५ फागुन २८ गतेबाट  चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो । यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारवाही गरेको थियो । तीमध्ये एक हजार ८९४ मुद्दा दर्ता भएको छ । पक्राउ परेकामध्ये धेरै छुटेका छन् ।

प्राप्त विवरणअनुसार १३८ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु सबै छुटेका छन् । छयालीस जनाविरुद्ध अहिले अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए ।

यस बीचमा चन्द समूहबाट प्रहरीले ४३ वटा पेस्तोल, विभिन्न हतियारमा प्रयोग हुने ५०० राउण्डभन्दा बढी गोली, दुई रिभल्बर, तीन थ्रीनट थ्री, एक÷एक थान एसएलआर र एलएमजी, एम–१६ र सात एसएमजी बरामद गरिसकेको छ । यस्तै प्रहरीले दुई प्रेसर कुकर बम, आठ सुतली बम, २३ सकेट बम, ३८ हाते ग्रिनेट, २१० थान डेटोनेटर पनि बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कांग्रेसद्वारा शिक्षक हत्याको भत्र्सना  

नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको निन्दा र भत्र्सना गर्दैै दोषीलाई कडा कानूनी कारवाहीको माग गरेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले व्यक्ति हत्याको राजनीति परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत चन्द समूहलाई अपिल गरेको छ । बैठकले पार्टीले यही मङ्सिर २९ गते तय गरेको देशव्यापी विरोध प्रदर्शनलाई भव्य बनाउन पार्टीका सबै संयन्त्र परिचालन गर्ने र सहभागिताका लागि सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै त्यसविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने मङ्सिर १९ गते निर्णय गरेको थियो ।

बैठकमा क्रियाशील सदस्यता विवरण प्रविधिमार्फत व्यवस्थापन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपभासपतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा प्रकाशशरण महत र सुनिल थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता अर्जुननरसिंह केसी र डा रामशरण महतलगायत उपस्थित थिए ।   

शिक्षक हत्यारालाई कारबाही गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्न माग गरेको छ ।  

नेविससंघका अध्यक्ष राजीव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठका हत्यारालाई तत्काल खोजी गरी कडा कारबाही गर्न माग गरेका हुन् । “व्यक्ति हत्या क्रुर र अमानवीय अपराध हो, राजनीतिक वा अन्य आवरणमा यसलाई ढाकछोप गर्न मिल्दैन”, उनले भने । 

नेविसंघले नेकपा माओवादी (विप्लब समूह)लाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरेको छ ।   

नेविसंघका महामन्त्री दीपक भट्टराईले शिक्षक र विद्यार्थीको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे । उनले सबै राजनीतिक दलले शिक्षा क्षेत्र, शान्ति क्षेत्र भन्ने कुरालाई मनन गर्न र त्यसको सम्मान गर्नुपर्ने बताए । 

हत्या गरिएका शिक्षक श्रेष्ठलाई शहीद घोषणा गर्न माग

नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवङ्गत उनलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । 

महासङ्घका अध्यक्ष बाबुराम थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाएको पत्रमा श्रेष्ठको परिवारको पालनपोषणको जिम्मा लिन पनि आग्रह गरिएको छ । अध्यक्ष थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराललाई भेटी दिनुभएको उक्त पत्रमा हिंसात्मक गतिविधि बन्द गरी त्यस्ता समूहले सरकारसँग आफ्ना कार्यसूचिबारे वार्ता गर्नुपर्ने पनि जनाइएको छ । 

यही मङ्सिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको समूहले सुराकीको आरोपमा निर्ममतापूर्वक घाँटी रेटी हत्या गरेको थियो । रासस 

शेयर गर्नुहोस:

351
Shares