
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् ।
सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिए ।
दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।
घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
बेलेरो जिप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको हो । जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए ।
राति भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताए । अधिकांश घाइतेको छाती, टाउको र हातखुट्टामा चोट लागेको प्रहरी स्रोतले जनाएको छ । रासस

हिमालय खबर -
- कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप
- प्रतिनिधिसभा पुनःस्थापना नभए निर्वाचनमा जान्छौँ : अध्यक्ष यादव
- काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
- जनताको सार्वभौमसत्तामाथि आक्रमण गर्नेविरुद्ध उत्रिन प्रचण्डको आग्रह
- ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
- प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा
- इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
- कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप
- दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
- भारतमा एक करोड छ लाखमा कोरोना संक्रमण
प्रतिक्रिया