मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

विकास निर्माणमा राजनीति हैन, प्रतिस्पर्धा गरौँ : पौडेल

विकास निर्माणमा राजनीति हैन, प्रतिस्पर्धा गरौँ : पौडेल


तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् ।  

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको बिहीबार उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले  विकास निर्माणका लागि काङ्ग्रेस सत्तामा नभए पनि प्रतिबद्ध रहेको जनाए । उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि सङ्घर्ष गर्नुपर्नेमा पनि जोड दिए । 

Advertisement

काङ्ग्रेस र देशका लागि तनहुँले सधैँ वैचारिक नेतृत्व गरेकाले अझै पनि त्यसका लागि तनहुँ सक्षम रहेको पौडेलको भनाइ थियो । बुधबार पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले दमन गरेको भन्दै उनले दुःख प्रकट गरे । बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा नेता पौडेललाई तीन घन्टा नियन्त्रणमा लिएको थियो ।

नेकपा समर्थित राष्ट्रिय युवा संघले विरोधको कार्यक्रम गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । पुलको उद्घाटनका लागि काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत काङ्ग्रेस कार्यकर्ताको टोली अगाडि बढेपछि प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको थियो । जसको देशभर विरोध भएको थियो । 

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले गत निर्वाचनमा भएको हारको समीक्षा गर्दै आफूलाई सच्याएर अबको चुनावका लागि तयारी गर्नुपर्नेमा जोड दिए ।  

पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई एक ढिक्का बनाउनु अहिलेको आवश्यकता रहेको बताए । केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा अझै पनि राजनीतिक संस्कारको विकास हुन आवश्यक रहेको बताए । 

कार्यक्रममा काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, गण्डकी प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले विकासका विषयमा काङ्ग्रेस प्रतिबद्ध रहेको जनाए । 

विसं २०७३ वैशाखमा कांग्रेसकै पालामा सुरु भएको ४५ मिटर लामो पुल २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न भएको हो । तत्कालीन जिल्ला विकास समितिमार्फत रु दुई करोड ५४ लाखमा निर्माण भएको पुलले रानीगाउँ, डिहीगाउँ, शेवर, दुम्सीचौर, दुम्सीकोट, निर्बु, बराहखोला, अँधेरीभञ्ज्याङ, पोखरेलफाँटलगायतका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले जानकारी दिए ।  

विगतमा पुल अभावमा कजवेबाट आवतजावत गर्नुपर्दा वर्षायाममा निकै सास्ती हुने गरेको स्मरण गर्दै अधिकारीले पुल निर्माणपछि सर्वसाधारणलाई राहत मिलेको बताए । रासस [तस्बिर : कृष्ण न्यौपाने / रासस]

शेयर गर्नुहोस:

108
Shares