काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएकोमा आपत्ति प्रकट गरेका छन् ।
कांग्रेसले तनहुँको व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्माण सम्पन्न पुलको बुधबार उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेताप्रति प्रहरी प्रशासनबाट दुर्व्यवहार गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ ।
उक्त पुलको स्थानीय उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर निमन्त्रणा गरेपछि वरिष्ठ नेता पौडेल उद्घाटन गर्न गएको पार्टी कार्यालयले जनाएको छ । उनले घटनाको विरोध गर्नाका साथै कांग्रेसले एकढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् ।
यसैबीच, काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पार्टी वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
नेविसंघ केन्द्रीय समितिले बुधबार साँझ काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुंगानाले पौडेललाई पक्राउ गरेर सरकारले निषेधको राजनीति गरेको बताएका छन् ।
नेविसंघकी महामन्त्री उर्मिला थपलिया र युवराज पाण्डे, नेता बलदेव तिमल्सिनालगायतले वरिष्ठ नेतालाई नियन्त्रणा लिएको घटनाको निन्दा गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया