मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नापो

नापो


चार्जिङमा राखेको फोन निकालेँ । एउटा प्याराग्राफ नै रहेछ सतर्कता संबन्धित सूचनाको ! 

टोर्नेडो आउॅदै छ । आबश्यक उपायहरु अपनाउनु । सकेसम्म नजिकको सेल्टरमा जानु नसके आफू बसेको ठाउॅमा कुशन, सिरानी आदि साथमा राखेर स-सानो क्षेत्र भएको कोठा, बाथरुम, क्लजेटमा गएर बस्नु । वृस्तृत जानकारीका लागि स्थानीय संचार माध्यमहरू हेर्दै, पढ्दै गर्नु पनि लेखिएको रहेछ ।

यो अमेरिका हो । बाहिर दुनियाँले देखिने गरि भवितव्य हॅुदैछ भने त्यसबाट बच्न अनेक उपायहरु छन् । सुनसान र मध्यरातमा पनि प्रकृतिले पार्न सक्ने भवितव्यको सूचना दिएको छ स्थानीय सरकार र संचार माध्यमले । 

केहिगरी रातभरमा केही परिहाल्यो भनेपनि पहरा छ बाहिरबाट । तर बिना भवितव्य सटाकसुटुक केहि भैरहेको छ भने कस्ले खोजी गर्ने ?

अस्ति मात्रै एकजना अमेरिकामा नै चिनजान भएको भाइले सोधेको थियो “को रहिछन दिदी ती क्लजेटमा झुन्डिएकी महिला ?” मलाई त केही थाहा छैन, केही समाचार सुनेकी छैन । बरु एक होनाहर नेपाली युवा केटो कार एक्सिडेन्टमा परेको र ज्यान गएको समाचार पढेकी थिएँ । बडो दु:ख लाग्यो- मैले भने ।

“कहिलेको कुरा हो ? ती महिला नेपाली हुन कि अरु नै ? यहीं वरिपरिको समाचार हो कि अन्यत्रको ? मैले एक स्वासमा सोधेकी थिएँ ।

“दिदी पनि ! अरु भए के सोधिरहन्थें र ! नेपाली रे , यहीं बेल्टलाईन आसपासको अपार्टमेन्ट अर्भिंग, टेक्ससमा बस्ने बिवाहित ! नेपालबाट आएको पनि धेरै भएको छैन रे । मैले सुनेको करिव दुई हप्ता भयो ।” एक स्वासमा भाइले पनि थाहा पाएभरिका कुरा सुनायो । 

उसो त यो कोरोना महामारी शुरु भएपछि एकलो महसुस मलाई पनि भै रहन्छ । दशैं गयो, तिहार गयो सबै सुनसानमा । आखिर यहाँ आफ्नो भन्ने को नै छ र ? बोले पनि श्रीमान नबोले पनि श्रीमान । धन्न गरिरहेको काममा केही परिवर्तन छैन । पहिला जे गरेकी थिएँ अहिले पनि उहि गरिरहेकी छु । फरक भनेको सतर्कता अपनाउने कुराहरुमा छ । मास्क लगाउने, अफिसको रुमको ढोका ढप्काएर काम गर्ने , सकेसम्म मानिसहरुको नजिक नगएर नै चलेको छ ।

भाइले सोधेको क्लजेटको घटना फेरी सुनें । 

एक जना यहीं चिनजान भएको अग्रजले दाजुले थप्नु भएको थियो । “अचेल जताततै कोरोनाका समाचार छन् । भित्रभित्रै कति घटना भैरहेका छन् थाहै हॅुदैन । कपडा झुन्ड्याउने हेंगरमा पनि कोही मर्न सक्छ र ?”

“को मर्यो र दाइ ?” मैले सोधेकी थिएँ ।

“खै समाचारमा त ल्याए ल्याएनन् एक वर्ष अघि आफ्नै श्रीमानसॅग अमेरिका आएकी भर्खरकी जवान केटी हेंगर राख्नेमा झुन्डिएर आत्महत्या गरेको रे भन्छन । थाहा छैन र एक महिना यतैको कुरा हो ।” अग्रज दाइबाट सुनेकी थिएँ ।

हरेक समय कपडा फेर्न क्लजेटमा गैरहन्थें । अहँ कहिलै यो कति अग्लो छ हेरेकी थिईन । आजको फोनको आपतकालिन सूचनाले क्लजेट सम्झायो । ती महिलाका फाट्टफुट्ट कुरा सम्झिए । अमेरिकामा बन्ने घरहरुमा एकै खालको स्ट्यानडरता कायम हुनुपर्छ । बाथरुम, क्लजेट, बेडरुम, किचन सबैमा आधारभूत कुराहरु एउटै हुन्छन् । 

मनमा धेरै कुरा खेले । काम गर्न सक्ने, परि आउॅदा आफै गाडी हाँकेर डुल्न सक्ने , अग्रेजीमा बोल्न न हिचकिचाउने , अनलाईनका सबै ब्यक्तिगत काम आफै गर्ने, आवश्यक खर्चको लागि हात थाप्न न पर्ने हुँदा त मेरा आफ्ना समस्याहरु संबोधन हुन सहयोगको खाँचो मैले महशुस गरेकी हुन्छु । यहाँ कति समस्या भोगेका महिलाहरु होलान भनेर प्रश्नहरु मडारिरहन्छन् मनमा । 

सम्झिएर क्लजेटमा छिरी हेंगर झुन्डाउने तिर हात तन्काएँ । आफैले नापो लिएँ । सबैभन्दा माथिल्लो डण्डी मेरो हातले सजिलै छुन सक्ने रहेछ । ५ फिट २ ईन्चको उचाई भएकी महिलाको हातले सजिलै छुन सक्ने मसिनो काठको डण्डीले करिब ५०-६० किलोको वजन कसरी धान्यो प्राण लिने गरि ?

घटना सुन्दा विश्वास गरिहाल्न सक्ने अवस्था पनि थिएन । क्लजेटको नापो लिएपछि त मनमा शंका मात्र उव्जिरहेको छ । 

टोर्नाडोको एम्बर अलर्टले क्लजेटमा पुर्यायो । अनि त्यही क्लजेटमा लुक्दा मनमा कतै चर्चानै नभएको, एकीन रूपमा कसैले भन्न नसक्ने घटनालाइ याद गरायो । 

– ड्यालस, टेक्सस