काठमाडौँ । नेपालमा बुधबार ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बुधबार थप ३० सहित एक हजार ३४ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा थप ३८४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ४४ हजार ९७८ पुगेको छ । जुन कुल संक्रमितको ७९.२६ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप १८७८ जना संक्रमित थपिएका छन् । काठमाडौँका १५७०, ललितपुरका २८९ र भक्तपुरका ११९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ८१ हजार ८४२ पुगेको छ । जसमा काठमाडौँमा कुल ६७ हजार ३५६, ललितपुरमा ९ हजार ५२७ र भक्तपुरमा ६ हजार ५९ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १३ हजार १४१ जनासहित हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा १ हजार ३०५ जना र आइसोलेसनमा ३६ हजार ९११ जना रहेका छन् ।
देशभर ३० हजार १३१ जना होम आइसोलेसनमा र ६ हजार ७८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै, देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ३७९ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया