मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा एक हजार बढीले गुमाए कोरोना संक्रमणबाट ज्यान

नेपालमा एक हजार बढीले गुमाए कोरोना संक्रमणबाट ज्यान


काठमाडौँ । नेपालमा मंगलबारसम्म कुल एक हजार बढीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार थप २० सहित एक हजार ४ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार १६६ जनाको पिसिआर परीक्षण गर्दा ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ७९ हजार ६१४ पुगेको छ । हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।  

पछिल्लो २४ घन्टामा थप ३१४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ४१ हजार १३४ पुगेको छ । जुन कुल संक्रमितको ७८.५८ प्रतिशत हो ।       

काठमाडौँ उपत्यकामा थप १४६८ जना संक्रमित थपिएका छन् । काठमाडौँका १२४२, ललितपुरका १६३ र भक्तपुरका ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ७९ हजार ९६४ पुगेको छ । जसमा काठमाडौँमा कुल ६५ हजार ७८६, ललितपुरमा ९ हजार २३८ र भक्तपुरमा ५ हजार ९४० जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

हाल देशभरका क्वारेन्टाइनमा १ हजार २७७ जना र आइसोलेसनमा ३७ हजार ४७६ जना रहेका छन् ।