मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

चितवनमा २४ घन्टाभित्र छ जना कोरोना संक्रमितको मृत्यु

चितवनमा २४ घन्टाभित्र छ जना कोरोना संक्रमितको मृत्यु


चितवन । चितवनमा पछिल्लो २४ घन्टामा छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा तीन, भरतपुर अस्पतालमा दुई र पुरानो मेडिकल कलेजमा एक जना गरी छ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन जना चितवनका छन् भने एक नवलपुर, एक धादिङ र एक गोरखाका रहेका छन् ।

चितवन मेडिकल कलेजले दिएको जानकारीअनुसार संक्रमणबाट मृत्यु हुनेमा भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष छन् । उनको श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएकामा कात्तिक १३ गते कोरोना पुष्टि भएको थियो । मधुमेहको समेत समस्या भएका उनको उपचारको क्रममा आइतबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. किशोर अधिकारीले जानकारी दिए ।

Advertisement

यसैगरी, भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक १३ गते कोरोना पुष्टि भएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएकामा निमोनिया र मधुमेहलगायत रोगबाट पीडित उनको पनि आइतबार राति नै मृत्यु भएको हो । 

यस्तै, नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कात्तिक १३ गते अस्पताल भर्ना भएका उनको १४ गते कोरोना पुष्‍टि भएको थियो । श्वासप्रश्वासको समस्या भएर अस्पतालको कोभिड आइसियूमा भर्ना भएका उनको पनि आइतबार राति ११ः२६ मा मृत्यु भएको हो । 

यस्तै, सोमबार बिहान भरतपुर–१० का ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ की ६१ वर्षीया महिलाको भरतपुर अस्पतालको कोभिड आइसियूमा मृत्यु भएको सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । भरतपुर–१० का पुरुषमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएर आइतबार अस्पताल भर्ना गरिएकोमा राति १ः२० बजे मृत्यु भएको हो । 

यस्तै, भरतपुर अस्पतालमा उपचाररत धादिङको निलकण्ठ नगरपालिका–३ का वृद्धाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरूष रहेको अस्पतालले जनाएको छ ।

कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उनमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

चितवनमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । चितवनमा पछिल्लो विवरणअनुसार हालसम्म ४ हजार ३७७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ ।

शेयर गर्नुहोस:

0
Shares