काठमाडौँ । नेपालमा आइतबार २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३६२० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ । जुन कुल संक्रमितको ७७.६९ प्रतिशत हो ।
हाल क्वारेन्टाइनमा २ हजार ३८६ र आइसोलेसनमा ३७ हजार ७६५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप २३ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा थप १६२२ जना संक्रमित थपिएका छन् । काठमाडौँका १३६२, ललितपुरका १६४ र भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ७७ हजार ८६६ पुगेको छ । जसमा काठमाडौँमा कुल ६३ हजार २१५, ललितपुरमा ८ हजार ८८२ र भक्तपुरमा ५ हजार ७६९ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
प्रवक्ता डा गौतमका अनुसार देशभरका प्रयोगशालामा थप १३ हजार २३ जनासहित हालसम्म १४ लाख ५६ हजार ३६६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८९ जना र होम आइसोलेसनमा ३० हजार ९८६ जना रहेका छन् । जसमा ७८ जनाको भेन्टिलेटरमा र २८३ जनाको आइसियूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया