मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना संक्रमणबाट धादिङमा तीन जनाको निधन

कोरोना संक्रमणबाट धादिङमा तीन जनाको निधन


धादिङ । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएसन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोविन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ ।  

त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो ।  

निमोनिया र दमको समस्या भोगिरहेका श्रेष्ठका दुई छोरा र चार छोरी  छन् । श्रेष्ठ धादिङ बार एशोसिएसनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष थिए । 

यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो ।  

लामो समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाइसिएल नेपालका केन्द्रीय सदस्यसमेत थिए । लोहनी धादिङबाट प्रतिनिधिसभामा निर्वाचित खेम लोहनीका भाइ हुन् । 

मंगलबार मृत्यु भएका बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकाललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले मात्र व्यक्तिगत सुरक्षा सामग्री लगाएर सद्गत गरेका छन् ।  

मृत्युपछि कसैको कोरोना परीक्षण नगर्ने भनिए पनि निजी अस्पतालमा उनको कोरोना परीक्षण गराइएको थियो । रासस