काठमाडौँ । नेपालमा सोमबार ३७९० जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।
एकैदिन कोरोना संक्रमण निको भई २३३५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । जुन कुल संक्रमितको ६९.४७ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप २३८८ जना संक्रमित थपिएका छन् । काठमाडौँका २००८, ललितपुरका २८२ र भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ५७ हजार ७७५ पुगेको छ । जसमा काठमाडौँमा कुल ४६ हजार ७४२, ललितपुरमा ६ हजार ४९३ र भक्तपुरमा ४ हजार ५४१ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
प्रवक्ता डा गौतमका अनुसार देशभरका प्रयोगशालामा थप १५ हजार ७१४ जनासहित हालसम्म १३ लाख ९१८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ४७९ जना क्वारेन्टाइनमा र ४० हजार ७७८ जना आइसोलेसनमा रहेका छन् ।
सक्रिय संक्रमितमध्ये २६ हजार ९२७ जना होम आइसोलेसनमा र १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार देशभर २८२ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रतिक्रिया