काठमाडौँ । गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आइतबार अनशन तोडेका छन् ।
डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ अनशन सुरु गरेका स्वास्थ्यस्थिति खराब हुन थालेपछि सरकारले काठमाडौँ ल्याएको थियो ।
शनिबार राति सरकारी वार्ता समिति र डा केसीबीच आठ बुँदे सहमति भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संंयोजक गोपी मैनाली र डा केसीले सहमतिमा हस्ताक्षर गरेका छन् ।
सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागेको समेत जानकारी गराउँदै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ ।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयम मूल्याङ्कन प्रतिवेदन पेश गरिसकेको छ ।
यस्तै, प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिवास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरु योजना स्वीकृत भइरहेको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतको अन्तिम चरणमा रहेको छ र हाल विस्तृत परियोजना प्रस्तावसम्बन्धी कार्य प्रारम्भ भइसकेको जनाएको छ ।
सहमति कार्यान्वयन गर्न माग
नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपिलसमेत गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजग गराएका छन् । उनले काँग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेका छन् । तस्बिरः रोशन सापकोटा / रासस












प्रतिक्रिया