मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शनिबार पाँच हजार बढीमा संक्रमण, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

शनिबार पाँच हजार बढीमा संक्रमण, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो


काठमाडौँ । नेपालमा शनिबार हालसम्मकै उच्च अर्थात् ५००८ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई १२२९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७४ हजार २५२ पुगेको छ । जुन कुल संक्रमितको ७०.२६ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप २६७२ जना संक्रमित थपिएका छन् । काठमाडौँका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ३९ हजार ५२१ पुगेको छ । जसमा काठमाडौँमा कुल ३० हजार ११८, ललितपुरमा ४ हजार ९८८ र भक्तपुरमा ३ हजार १४८ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १९ हजार ३२० जनासहित हालसम्म ११ लाख ६४ हजार ५५७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ६८६ जना क्वारेन्टाइनमा र ३० हजार ८१८ जना आइसोलेसनमा रहेका छन् ।   

सक्रिय सङ्क्रमितमध्ये १७ हजार १६४ जना होम आइसोलेसनमा र १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर ३२१ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ७७ जना भेन्टिलेटरमा उपचाररत छन् ।