मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पशुपति क्षेत्र विकास कोष पुनःसंरचनाको माग गर्दै आन्दोलन

पशुपति क्षेत्र विकास कोष पुनःसंरचनाको माग गर्दै आन्दोलन


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको पुनःसंरचनाको माग गर्दै पशुपतिका स्थानीयवासीले बुधबार प्रदर्शन गरेका छन् । स्थानीयवासीले गठन गरेको पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको नेतृत्वमा छ महिनाअघि कोष सञ्चालक परिषदबाट पारित भएको गुरुयोजना खारेजी, कोषका पदाधिकारीको राजीनामासमेत माग गरी विरोधका कार्यक्रम अघि बढाइएको हो ।

आइतबारदेखि धर्ना, ‘ब्ल्याक आउट’ लगायत कार्यक्रम जारी राखेको समितिले बुधबार बृहत् मानव साङ्लो प्रदर्शन गरेको हो । कोषमा राजनीतिक मानिस मात्र राखेको र  स्थानीय जनप्रतिनिधिको प्रतिनिधित्व नहुँदा पशुपति क्षेत्रको प्राचीन बस्ती हटाउने, मौलिक धर्म, संस्कृति, जात्रा, पर्व समेत नाश गर्न खोजेको जनाउँदै पुनःसंरचनाको माग गर्न आन्दोलनमा उत्रनुपरेको समिति संयोजक आशामान सङ्गतले जानकारी दिए । 

पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन बाहिर गएर विकासनिर्माणका काम भएको जनाउँदै त्यस्ता काम रोकी विश्वसम्पदा सूचीमा सूचीकृतस्थलको गरिमा कायम राखिनुपर्ने माग समितिको छ । 

समितिका अर्का संयोजक कृष्णमान श्रेष्ठ कोषले १०० वर्षे गुरुयोजना बनाई पहिलेदेखि रहेको बस्ती हटाएर आधुनिक ठूला भवन बनाउन लागेको आरोप लगाएका छन् । यसअघि कोषले २०५६ सालमा बनाएको पहिलो गुरुयोजना नै पूर्ण नभएको उनको भनाइ छ । कोषले २०५९ सालमा संकटकालको मौका छोपी पशुपति क्षेत्रका ३६० घर हटाएको स्थानीयवासीको गुनासो छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोषलाई गत साउन १८ गते विसं २०५६ देखि २०६६ सम्मको गुरुयोजनाको प्रगति समीक्षा सार्वजनिक गर्न दिएको निर्देशनसमेत पालना नभएको स्थानीयवासीको भनाइ छ । त्यसै दिन मन्त्री योगेशकुमार भट्टराईले मन्त्रालयका दुई सहसचिव र पुरातत्व विभागका महानिर्देशक सदस्य रहने गरी गुरुयोजना अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदललाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको थियो ।

कार्यदलको समय थपी गुरुयोजना अध्ययन, सरोकार भएका निकायसँग छलफललगायत काम भइरहेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताए । 

पशुपतिनाथ मन्दिर खोल्न माग

गत वर्ष चैतदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पशुपतिनाथ मन्दिरमा भक्तजन प्रवेश निषेध गरिएकामा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर खोल्नुपर्ने माग गर्दै विश्व हिन्दू महासंघको नेतृत्वमा करिब एक दर्जन संस्थाले बेलुकी दीप प्रज्वलनसहित विरोध प्रदर्शन गरिरहेका छन् । 

सार्वजनिक यातायात, ठूला बजारलगायत खुल्दा पनि पशुपति नखोलिएको जनाउँदै धार्मिक संस्था एक साताअघिदेखि नै शान्तिपूर्ण रुपमा दीप प्रज्वलनसहित आन्दोलनमा उत्रेको गौरी मासिकका सम्पादक अर्जुन लामिछानेले बताए । सरकारले अनुमति दिनेबित्तिकै मन्दिर खोल्न सकिने गरी सबै तयारी पूरा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।