मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोभिड–१९ सङ्क्रमित धमाधम खुल्दै

कोभिड–१९ सङ्क्रमित धमाधम खुल्दै


काठमाडौँ । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोभिड–१९ को सङ्क्रमण देखियो । मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले आफूहरुलाई सङ्क्रमण भएको सामाजिक सञ्जालबाटै जानकारी गराए ।  

मुख्य सल्लाहकार रिमालले सङ्क्रमण देखिएपछि शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, “हिजो पिसिआर परीक्षण गराउँदा कोभिड–१९ पोजिटिभ देखियो । यसैबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।”  

यस्तै प्रेस सल्लाहकार थापाले पनि गत शनिबार नै “हिजोको पिसिआर परीक्षणको क्रममा ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा गरेका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु,” भनेर लेखेका छन् ।  

यस्तै, नेपाली काँग्रेसका नेता गगन थापाले पनि यही असोज १७ गते शनिबार आफू सङ्क्रमित भएको जानकारी सामाजिक सञ्जालबाट गराए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको बताए । उनले आफ्नो सम्पर्कमा रहेका सबैले सजगता अपनाउन अनुरोध गरे ।  

पहिले सङ्क्रमितले न आफूले सङ्क्रमण भएको जानकारी गराउथे, न सरकारले नै । अहिले यसरी कोभिड–१९ को सङ्क्रमितहरु आफैँ खुल्न थालेका छन् । विशेषगरी सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिँदै आएका छन् । यस सूचीमा थुप्रै राजनीतिक दलका नेता, कलाकार, चिकित्सकलगायत अन्य व्यक्तिहरु छन् ।

उनीहरु जस्ता समाजका जिम्मेवार व्यक्तिले आफू सङ्क्रमित भएको जानकारी गराउँदै सङ्क्रमणबाट बच्न सबैलाई अनुरोधसमेत गरेका छन् । सरकारले सङ्क्रमितको बारेमा जानकारी नगराए पनि सङ्क्रमित आफैँ खुल्न थालेका हुन् । अहिले सङ्क्रमित भएको अवस्थामा नै उनीहरुले कोभिड–१९ बाट बच्नका लागि उच्च सर्तकता राख्नसमेत अनुरोध गर्दै सामाजिक सञ्जालमा भिडियो बनाउने गरेका छन् । नेपालको पहिलो सङ्क्रमित को हो भनेर अझै सरकारले खुलाएको छैन । 

चीनको वुहान सहरबाट नेपाल आएका ती व्यक्ति को हुन् कहिले सङ्क्रमण भएको र कहिले निको भएको हो भन्ने सरकारले अझै औपचारिक रुपमा जानकारी गराएको छैन । ती व्यक्तिलाई माघ १० गते सङ्क्रमण भएको मात्र मन्त्रालयले अनौपचारिक रुपमा जानकारी गराएको छ ।  

अहिले सङ्क्रमण फैलिन थालेपछि सङ्क्रमितहरु भने आफैँ सङ्क्रमण भएको जानकारी गराउँदै आएका छन् । अहिले नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमित, निको र निधन हुनेको जानकारी गराउँदै आएका छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सङ्क्रमित भएको रिर्पोट सम्बन्धित व्यक्तिलाई दिने भनेको छ । पहिले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र रिर्पोट दिने गर्दथ्यो ।  

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्क्रमित व्यक्तिले अरुलाई पनि सङ्क्रमण नहोस् भनेर जानकारी गराउन पनि सङ्क्रमित खुल्ने गरेको बताउनुहुन्छ । उपत्यकामा पनि घरबेटीले चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत सर्वसाधारण सङ्क्रमितलाई बस्न नदिएको कुरा सार्वजनिक भएको थियो । मन्त्रालयले पटकपटक सङ्क्रमितलाई घरबाट ननिकाल्न घरबेटीलाई आग्रह गर्दै आइरहेको छ । 

मनोचिकित्सक डा अरुणा उप्रेतीले कोभिड–१९ को त्रास कम हुँदै जानु र विस्तारै सचेतना फैलिँदै गएपछि सङ्क्रमित खुल्न थालेको बताउँछिन् । उनले अहिले शिक्षित, बुद्धिजीवी सङ्क्रमणबारे खुल्न थालेको बताइन् ।  

“पहिले पनि क्षयरोग, कुष्टरोग, एचआइभी एड्सजस्ता रोगलाई लुकाउने गरेको थियो । औषधि बनेपछि ती रोगका बिरामी आफैँ खुल्न थालेका थिए” उनले भनिन्, “सुरुसुरुमा कोभिड–१९ लागेको मानिसलाई सङ्क्रण देखिएपछि घरपरिवार र समुदायका मानिस सबैलाई सर्छ भन्ने थियो । अहिले त्यस्तो देखिएन । कोभिड–१९ केही होइन भन्ने मानिसमा सचेतना भयो । त्यही भएर खुल्न थालेका छन् ।”

कोभिड–१९ बाट सङ्क्रमित पत्रकार मात्रिका पौडेलले सार्वजनिक ठाउँ समारोहमा जाने व्यक्तिमा सङ्क्रमित भयो भनेर जानकारी गराउँदा सम्पर्कमा आएमा मानिसले सतर्कता अपनाउने बताउँछन् । उनलाई गत बिहीबार सङ्क्रमण भएको थियो । उनले आफू पहिल्यैदेखि नै जनतासँग प्रत्यक्ष भेटघाट गर्ने व्यक्ति सङ्क्रमित भएको खण्डमा सबैलाई जानकारी गराउँदै आएको बताए । “हामी धेरै मानिससँग सम्पर्कमा गएका हुन्छौँ,” उनले भने, “हामीले को कोलाई भेटेको भन्ने थाहा हुँदैन । त्यही भएर सार्वजनिक व्यक्तिले सङ्क्रमण भएको जानकारी गराउँदा अरुले सजकता अपनाउँछन् ।”

मनोचिकित्सक डा उप्रेतीले अहिले पनि गाउँघरमा सङ्क्रमित खुल्न नसकेको बताउँछिन् । उनले समाजमा सङ्क्रमितलाई भेदभावको रुपमा हेर्ने जस्ता क्रियाकलाप हुँदै आएको जानकारी दिइन् । नेपालमा आजसम्म ९० हजार ८१४ सङ्क्रमित, ६७ हजार ५४२ निको र ५६३ निधन भइसकेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बिरामीको अनुमति बिना बिरामीको बारेमा जानकारी गराउन नमिल्ने बताए । उनले अहिले कोभिड–१९ को सङ्क्रमण सबैलाई लाग्ने भएकोले शिक्षित व्यक्तिले आफू सङ्क्रमित भएको जानकारी गराएर सूसूचित गरिरहेको बताए ।  

“यो रोग लुकाए झनै समस्या हुन्छ । आफू सङ्क्रमित भएको जानकारी गराउँदा रोकथाम र नियन्त्रणमा सहयोग पुग्दछ” उनले भने, “त्यसैले सबैले सङ्क्रमण लुकाउनुभन्दा सबैलाई जानकारी गराउनु राम्रो हुन्छ ।”