मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँ उपत्यकामा संक्रमण बढ्यो, १४ दिन क्वारन्टाइनमा बसिदिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ उपत्यकामा संक्रमण बढ्यो, १४ दिन क्वारन्टाइनमा बसिदिन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ । काठमाडौँ उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको सङ्क्रमण बढेको पाइएको छ । जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएकाले सङ्क्रमण बढेको हो ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार आयोजित पत्रकार सम्मेलनमा हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क लगाउने, दुई मिटरको दूरी कायम राख्ने र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।  

सोमबार देशभर २४४० सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र १५३१ जनामा संक्रमण पुष्टि भएको छ । नेपाल भारत सीमामा मानिसको आवतजावतका कारणले पनि सङ्क्रमण बढेको उनको दाबी थियो । 

“खुला सीमा भएका कारण मानिस सीधै काठमाडौँ आए । आएका मानिस पनि १४ दिनसम्म क्वारेन्टाइनमा नबस्दा सङ्क्रमण बढेको हो”, उनले भने,  “हामीले बाहिरबाट आइसकेका मानिसलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न भनेका थियौँ । त्यो पनि पालना गरिएन । आज सङ्क्रमण बढ्यो भनेर चिन्ता गर्नुभन्दा सङ्क्रमण नबढ्न के गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।”

उनका अनुसार नेपालमा हाल आइसोलेसन २० हजार ७६५, सघन उपचार कक्ष दुई हजार ६०० र भेन्टिलेर ९०० छन् । अझै ११० भेन्टिलेटर आउने क्रममा छ । उनले संक्रमण बढ्न नदिन राजधानीबाहिरबाट आएका मानिसलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका छन् ।     

काठमाडौँ उपत्यकामा सोमबार थप १५३१ जना संक्रमितमध्ये काठमाडौँका ११७८, ललितपुरका २५९ र भक्तपुरका १०३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ३० हजार १९९ पुगेको छ । जसमा काठमाडौँमा कुल २२ हजार ७३८, ललितपुरमा ३ हजार ४२५ र भक्तपुरमा २ हजार ४६९ जना रहेका छन् ।