मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार २२५३ संक्रमित, १३२९ जना डिस्चार्ज, थप सातसहित ५३५ जनाको मृत्यु

आइतबार २२५३ संक्रमित, १३२९ जना डिस्चार्ज, थप सातसहित ५३५ जनाको मृत्यु


काठमाडौँ । नेपालमा आइतबार २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।  

मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष तथा कञ्चनपुरकी २९ वर्षीय महिला रहेका छन् । 

एकैदिन कोरोना संक्रमण निको भई १३२९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । जुन कुल संक्रमितको ७३.७९ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १५९९ जना संक्रमित थपिएका छन् । काठमाडौँका १३७३, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २८ हजार ६६८ पुगेको छ । जसमा काठमाडौँमा कुल २३ हजार ५६०, ललितपुरमा ३ हजार ६६ र भक्तपुरमा २ हजार ३६६ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन्  । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १२ हजार ७८४ जनासहित हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा र २२ हजार २१९ जना आइसोलेसनमा रहेका छन् ।   

२२ हजार २१९ जना सक्रिय सङ्क्रमितमध्ये ११ हजार ८९३ जना होम आइसोलेसनमा र १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा छन् ।    

मन्त्रालयका अनुसार देशभर २२६ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।