मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत : अध्यक्ष यादव

संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत : अध्यक्ष यादव


लहान । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भएमात्र जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताएका छन् । 

पार्टीको अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्दै अध्यक्ष यादवले तत्काल संविधानमा भएका त्रुटि संशोधन गरी प्राप्त उपलब्धि संस्थागत गर्नुपर्नेमा जोड दिए ।

मुलुकका पुराना शक्ति काँग्रेस र कम्युनिष्ट असफल भइसकेको विचार व्यक्त गर्दै उनले मधेशमा भएका शक्तिलाई एकीकृत गरी पहाडका उत्पीडित शक्तिलाई समेत समेटेर वैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु जुटेको उनको भनाइ थियो । अध्यक्ष यादवले पार्टी एकता भएर समायोजनको प्रक्रियामा रहेको पनि बताए । 

भेलामा पार्टीका नेता तथा प्रदेश नं २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रदेशसभा सदस्य मनिषकुमार सुमन, विन्देश्वर यादव, नेत्रविक्रम साह तथा अगुवा नेता कार्यकर्ताको सहभागिता थियो । 

यसअघि शुक्रबारै अध्यक्ष  यादवले सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरही पुगेर दिवङ्गत पूर्वसांसद् हरिप्रसाद रायलाई श्रद्धाञ्जली दिए । 

विसं २०४८ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित राय मधेश आन्दोलनका क्रममा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भई मधेश आन्दोलनमा होमिएका थिए । रायको गत आइतबार उपचारका क्रममा निधन भएको थियो ।