मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार शाहको हत्यामा संलग्न अन्य व्यक्तिलाई कारबाही गर्न माग

पत्रकार शाहको हत्यामा संलग्न अन्य व्यक्तिलाई कारबाही गर्न माग


काठमाडौँ । नेपाल पत्रकार महासंघले बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न भई फरार रहेका लालबहादुर चौधरीसहितका व्यक्तिको खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन र कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

सोही घटनामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई भने महासङ्घले सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ । “पत्रकार हत्या र बेपत्ता बनाउने कार्यमा संलग्न दोषीमाथि यथाशीघ्र कानूनी कारबाही गरी पीडित परिवार र नेपाली सञ्चार क्षेत्रलाई न्यायको अनुभूति दिलाउन सरकारसँग महासङ्घ जोडदार माग गर्दछ”, महासङ्घद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

विसं २०६४ असोज १८ गते बाराको डोढियापिपरा बजारबाट अपहरणमा परेका पत्रकार साहको हत्या गरी ३५ दिनपछि कार्तिक १८ गते बाराको डुमरवान–७ स्थित जङ्गलमा गाडिएको अवस्थामा शव फेला परेको थियो । १३ वर्षपछि हत्याका आरोपी पक्राउ पर्नुले ढिलै भए पनि कानूनी न्याय प्राप्त हुने र दण्डहिनताको अवस्था क्रमशः अन्त्य हुने विश्वास महासङ्घको छ । महासङ्घले अभियुक्त पटेललाई कानूनले तोकेबमोजिमको पूरा सजाय दिनुपर्ने मागसमेत गरेको छ । 

सशस्त्र द्वन्द्वयता तत्कालीन विद्रोही र राज्य पक्षबाट ३६ पत्रकारको हत्या भएको र चार पत्रकार बेपत्ता भएको महासङ्घको भनाइ छ । विज्ञप्तीमा भनिएको छ, “पत्रकारको हत्यामा संलग्नलाई अहिले पनि कानूनअनुसार सजाय हुन नसक्दा पीडित परिवार र नेपाली सञ्चार क्षेत्रले न्यायको अनुभूति गर्न सकेको छैन, पत्रकार हत्यामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन, बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्न र परिवारलाई न्याय दिलाउने कार्यमा महासङ्घ निरन्तर दबाब अभियानमा छ ।”