नेपाल

शुक्रबार चौध सय संक्रमित, चौध सय डिस्चार्ज, चौध जनाको मृत्यु

शुक्रबार चौध सय संक्रमित, चौध सय डिस्चार्ज, चौध जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १३ हजार ६३८ जनाको पिसिआर परीक्षणका क्रममा १३५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । जसमा १८ हजार ४०४ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement

मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, डोटी,  र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन् । सोलुखुम्बु, मुस्ताङ, ताप्लेजुङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ ।  

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट चार महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौँका २२, ६७ र ८२ वर्षीया तीन महिला तथा चितवनमा ३५ वर्षीयाको महिला रहेका छन् । मृत्यु हुने पुरुषमा सप्तरीका ५५ ५५ वर्षका दुई, धनुषामा ६५ वर्षका, कास्कीमा ३१ वर्षका, नवलपरासीमा ३७ वर्षका, प्यूठानमा ५८ वर्षका, रुपन्देहीमा ७८ वर्षका, पाल्पामा ६३ र सुर्खेतमा ४२ वर्षका पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७१ जना पुगेको छ । जसमा १९५ पुरुष र ७६ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा ४५४ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ७४९२ पुगेको छ । जसमा काठमाडौँका ६००८, ललितपुरका ८५० र भक्तपुरका ६३४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ७ लाख ४५ हजार ४९० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ५६१ जना क्वारेन्टाइनमा र १८ हजार ४०४ जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ९४२ र होम आइसोसनमा ७ हजार ४६२ जना रहेका छन् ।

त्यस्तै, शुक्रबार एकै दिन कोरोना संक्रमण निको भई १३५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । जुन कुल संक्रमितको ५६ प्रतिशत हो ।