काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १३ हजार ४१३ जनाको पिसिआर परीक्षणका क्रममा १२२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । जसमा १८ हजार ४१३ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, डोटी, र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन् । सोलुखुम्बु, मुस्ताङ, भोजपुर, ताप्लेजुङ, डोल्पा, हुम्ला र मुगुमा संक्रमितको संख्या शून्य छ ।
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा रुपन्देहीको सैनामैना–११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष, सप्तरीको राजविराज नगरपालिका– ७ का ५० र ५५ वर्षका पुरुष, चितवनकी ३५ वर्षीया महिला, नवलपुरको गैँडाकोट नगरपालिका–५ का ३७ वर्षका एक पुरुष, चितवनको भरतपुर ११ का ४० वर्षीया महिला, मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिला रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५७ जना पुगेको छ । जसमा १८५ पुरुष र ७२ महिला रहेका छन् ।
काठमाडौँ उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ७०३८ पुगेको छ । जसमा काठमाडौँका ५६२२, ललितपुरका ८१८ र भक्तपुरका ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ७ लाख ३१ हजार ८५२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ७४९ जना क्वारेन्टाइनमा र १८ हजार ४१३ जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ६७१ र होम आइसोसनमा ७ हजार ७४२ जना रहेका छन् ।
त्यस्तै, बिहीबार एकै दिन कोरोना संक्रमण निको भई ९१७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ । जुन ५६ प्रतिशत हो ।
प्रतिक्रिया