मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा आइतबार थपिए १२२१ संक्रमित, एकैदिन १४ जनाको मृत्यु

नेपालमा आइतबार थपिए १२२१ संक्रमित, एकैदिन १४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ७१७ जनाको पिसिआर परीक्षणका क्रममा १२२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३८ हजार ६६१ पुगेको छ । जसमा १७ हजार ५१८ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४५ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ । 

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १४ जनाको मृत्यु भएको जानकारी दिए । 

मृत्यु हुनेमा सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० वर्षीय र ३५ वर्षीय तथा रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय तथा रुपन्देहीका ५७ वर्षीय र ६७ वर्षीय पुरुष तथा सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौँका ७२ वर्षीया महिला रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२१ जना पुगेको छ । जसमा १६२ पुरुष र ५९ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा ४२९ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ५४२६ पुगेको छ । जसमा काठमाडौँका ४३३२, ललिपुरका ७१८ र भक्तपुरका ४६० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५/२५ जना, नवलपरासीका २१, बाँकेका १४, झापा र डोटीका ११/११ जना छन् ।

मकवानपुरका ९ जना, पाल्पा र अछामका ८र८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६र६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५/५ जना, ओखलढुंगा र तनहुँका ४/४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३/३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २/२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ६ लाख ८२ हजार ३४३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल सात हजार ७९७ जना क्वारेन्टाइनमा र १७ हजार ५१८ जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् र होम आइसोलेसनमा ६ हजार ९०० रहेका छन् । 

त्यस्तै, आइतबार एकै दिन कोरोना संक्रमण निको भई २६७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ । जुन ५४ प्रतिशत हो ।