काबुल । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आमनागरिक मारिएका छन् ।
घटनामा परी अरु ७० जना घाइते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि व्यापक झडपहरू भएका र राति अबेर मात्र लडाइँ शान्त भएको उनको भनाइ छ ।
“अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरेपछि मात्रै भीडन्त रोकिएको हो, त्यस आक्रमणमा परी १५ सर्वसाधारणको मृत्यु भएको छ भने अरु ७० जना घाइते भएका छन्,” नाम नबताउने शर्तमा एक सैनिकले बताए ।
घाइते भएकामध्ये २८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको कान्दहार प्रान्तको राजधानीमा रहेको मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको पनि श्रोतले जनाएको छ ।
भिडन्तमा परी पाकिस्तान वा अफगानिस्तान कुनै पनि तर्फका सुरक्षाकर्मीहरुको मृत्यु भएको आधिकारिक विवरण अहिलेसम्म प्राप्त भएको छैन ।
श्रोतका अनुसार अहिले उनीहरुले भिडन्त स्थगन गरे पनि कुनै पनि बेला फेरि आक्रमण गर्नेगरी तयारी अवस्थामा रहेको पाइएको छ ।
दुवै तर्फका सुरक्षाकर्मीहरुले घटनास्थल वरीपरी ठूलो संख्यामा सुरक्षाकर्मीहरु पठाएको पनि श्रोतले जनाएको छ । एएनआई
प्रतिक्रिया