लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका विरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ ।
पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् ।
उनीसँगै अरु तीन जनालाई पनि ३४ वर्षअगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्बन्धी काम कानुनविपरीत गरेको भन्दै दोषी दाबी गरेर मुद्दा दायर गरिएको हो ।
स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० वर्षीय सरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ ।
पाकिस्तानमा तीनपटक प्रधानमन्त्री भएका सरिफलाई यसअघि भ्रष्टाचारसम्बन्धी अन्य मुद्दा पनि लगाइएको छ ।
अहिलेको मुद्दामा उनीसँगै दोषी दावी गरिएकामा जङ्ग÷जेओ मिडिया ग्रुपका सञ्चालक मिर सकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् ।
सन् १९८६ मा सरिफ पञ्जाबको मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाएको दाबी गरिएको छ ।
सो कार्य गर्दा सरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उल्लंघन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोगेका सरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन गएका थिए ।
उनी उपचारका लागि चार हप्ताका लागिमात्रै अनुमति पाए पनि अहिलेसम्म बसिरहेका छन् । सरिफकी श्रीमतीको पनि दुई वर्षअगाडि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो । पिटिआई
प्रतिक्रिया