मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रुसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म शक्तिमा रहन पाउने

रुसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म शक्तिमा रहन पाउने


मस्को । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत आएको छ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजाअनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका हुन् । 
 
पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ ।  
 
संविधान संशोधनसम्बन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका हुन् । त्यस प्रस्तावमा अहिलेमात्रै मतदान भएको हो । 
 
सुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भए पनि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि गत जुलाई १ का लागि तय गरिएको थियो । तर, त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको जनाइएको हो । 
 
मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको थियो भने मतदान गर्ने बेलामा भीडभाड नहुने व्यवस्था गरिएको थियो ।
 
मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ । प्रत्येक कार्यकाल छ वर्षको हुने भएकाले उनले अर्को १२ वर्ष रुसमा शासन गर्ने कानुनी बाटो खुलेको छ । 
 
राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो । तर, संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप छ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अब सन् २०३६ सम्म सुनिश्चत भएको हो । 
 
अहिले ६७ वर्ष पुगेका पुटिनले रुसमा गत दुई दसकदेखि शासन गर्दै आएका छन् । उनी रुसी जनताका बीचमा अति लोकप्रिय मानिन्छन् । 
 
उनलाई थप दुई कार्यकाल शक्तिमा राख्ने प्रस्ताव सहितको संविधान संशोधनको यो प्रस्तावलाई संसदले यसअघि नै पारित गरिसकेको छ । एपी

शेयर गर्नुहोस:

0
Shares