काठमाडौँ । नेपालमा मंगलबार एकैदिन ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ५३८ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ ।
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१ र सोमबार ५३५ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो ।
नेपालमा हालसम्म २४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा ८ महिला र ६८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २२२४ पुगेको छ । जसमा १८९ महिला र २०३५ पुरुष रहेका छन् ।
देशका रसुवाबाहेकको ७६ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ । प्रवक्ता डा गौतमका अनुसार देशभर हालसम्म एक लाख ८६ हजार ३६६ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ भने दुई लाख ७१ हजार ५८४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ९९५ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
हाल देशभरका विभिन्न क्वारेन्टाइनमा ८५ हजार ८१३ व्यक्तिहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ८५१ कोरोना संक्रमितहरु उपचाररत छन् ।








प्रतिक्रिया