मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाल-भारतबीच सबै समस्या वार्ताबाट समाधान : राजनाथ सिंह

नेपाल-भारतबीच सबै समस्या वार्ताबाट समाधान : राजनाथ सिंह


नयाँ दिल्ली । नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार बताएका छन् । 
 
छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्धमात्र नभई ‘धार्मिक’ पनि भएको उनले बताए । 
 
सीमा सडक संगठन (बोर्डर रोड्स अर्गनाइजेसन)द्वारा  ‘कैलास मानसरोवर यात्राको सुविधाका लागि निर्माण गरिएको सडकलाई लिएर लिपुलेकसम्मको सडकबारे दुई मुलुकबीचको बुझाईमा भिन्नता आएपछि’ सिंहको उक्त भनाइ आएको हो । 
 
यो सडक मानसरोबरसम्म जानका लागि बनाइएको ८० किलोमिटर नयाँ मार्ग ‘भारतीय क्षेत्र’मा रहेको दाबी सिंहले उत्तराखण्ड जनसम्वाद र्‍यालीलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्ने क्रममा बताएका हुन् । 
 
उनले भने, “नेपालमा यसबारे बुझाइमा केही गलत धारणा आएका छन् । यसलाई हामीले वार्ताका माध्यमबाट समाधान गर्नेछौँ ।” 
 
उनले थपे, “नेपालले चासो व्यक्त गरेजस्तो हामीबीच सामाजिक, भौगोलिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्धमात्र नभई हामीबीच धार्मिक सम्बन्ध पनि रहेको छ । भारतले यसलाई कहिल्यै बिर्सन सक्दैन ।”
 
दुई मुलुकबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको र यसलाई ‘विश्वका कुनै शक्ति’ले तोड्न नसक्ने भारतीय रक्षामन्त्रीको दाबी रहेको छ ।
 
केही दिन पहिले नेपालको प्रतिनिधि सभाले सर्वसम्मतरूपमा पारित गरेको नेपालको नयाँ नक्सालाई मान्यता दिन संविधानको संशोधन गर्ने निर्णयलाई आइतबार राष्ट्रिय सभा (संसदको माथिल्लो सदन) ले अनुमोदन गरेको थियो । नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको छ ।
 
उक्त अवसरमा सिंहले भारतीय जनता पार्टी नेतृत्वको उत्तराखण्ड राज्य सरकारले विगत तीन वर्षमा गरेका कामको प्रशंसा गर्दै उत्तराखण्डमा भाजपाले गरेका सबै वाचालाई यसै कार्यकालको अन्त्यसम्ममा पूरा गर्ने प्रतिबद्धता जाहेर गरे । एनएनआई

शेयर गर्नुहोस:

0
Shares