मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पछिल्लो गोलीकाण्डपछि अमेरिका फेरि अशान्त, केही सहरमा हिंसा फैलियो

पछिल्लो गोलीकाण्डपछि अमेरिका फेरि अशान्त, केही सहरमा हिंसा फैलियो


वासिङ्टन । एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी सहरहरुमा फेरि हिंसा फैलिएको छ । 
 
मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला एटलान्टामा अर्का अश्वेत व्यक्तिको हत्याले धेरैलाई क्रुद्ध बनाएको छ ।
 
एटलान्टाका २७ वर्षीय रेसार्ड ब्रुक्सको हत्या नै भएको स्वास्थ्य परीक्षणबाट खुलेपछि अमेरिकी सहरहरुका सडकमा प्रदर्शन हुनुका साथै स्थानीय प्रहरी प्रमुखले राजीनामा गर्नु परेको छ । 
 
क्रुद्ध प्रदर्शनकारीले ब्रुक्सको हत्या भएको स्थान नजिकको वेन्डी रेस्टुराँमा आगो लगाइदिएका छन् । ब्रुक्सले यही रेस्टुराँमा जाने बाटोमा कार तेस्र्याएर मानिसको आवतजावतमा अबरोध गरेको भन्दै प्रहरीले उनीमाथि गोली चलाएको थियो ।
 
एटलान्टाका मेयर केशा लान्स बटम्सले शनिबार पत्रकार सम्मेलन गरी प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिइसकेको घोषणा गरेका थिए । 
 
मेयर बटम्सले प्रहरीले शक्तिको दुरुपयोग गरेको भन्दै क्षमा मागेका थिए । ब्रुक्समाथि गोली चलाउने प्रहरी अधिकृत ग्यारेट रोल्फलाई सेवाबाट बर्खास्त गरिएको छ । 
 
फुल्टोन काउन्टीका न्यायाधीवक्ता पल होवार्डले दोषी प्रहरी अधिकृत रोल्फमाथि फौजदारी अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा चाँडै निर्णय हुने जानकारी दिए । 
 
गत शुक्रबारको यो घटना हुँदा ब्रुक्स आफ्नो कारमा सुतिरहेका थिए । वेन्डी रेस्टुराँमा आवतजावत गर्ने मार्गमा अवरोध गरेको भन्दै उक्त रेस्टुराँले प्रहरीलाई खबर गरेको थियो । 
 
तत्काल उक्त स्थानमा पुगेको प्रहरी र कारभित्र सुतिरहेका ब्रुक्सबीच भनाभन हुनुका साथै हातपात भएको प्रत्यक्षदर्शीले बताएका छन् । 
 
भिडियो फुटेजमा दुई जना श्वेत प्रहरीले ब्रुक्सलाई नियन्त्रणमा लिन निकै प्रयास गरेको देखिएको छ । यहीबीच प्रहरीकै हतियार खोसेका ब्रुक्समाथि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 
 
तर, प्रहरीबाट खोसिएको हतियार घातक नरहेको र त्यसबाट मानिसको मृत्यु नहुने अनुसन्धान अधिकारीहरुले बताएका छन् । प्रहरीसामु अन्य थुप्रै विकल्पहरु हुँदाहुँदै प्रहरीले गोली चलाएको आरोप प्रहरीमाथि लागेको छ । एएफपी

शेयर गर्नुहोस:

0
Shares