नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण एकैदिनमा ११ हजार १२८ जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ११ हजार १२८ जना संक्रमित भएको पुष्टि भएको हो ।
योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ९८ हजार २८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा ३९६ जनाको मृत्यु भएको जनाएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ५०१ पुगेको छ ।
भारतमा अहिले पनि १ लाख ४२ हजार ५८७ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४७ हजार १९५ रहेको मन्त्रालयले जनाएको छ ।
कोराना भाइरसको संक्रमण भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिँदै आएको छ । महाराष्ट्रमा मात्रै शुक्रबारसम्म ९७ हजार ६४८ जना संक्रमित भएका छन् ।
दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३८ हजार ७१६ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३४ हजार ६८७ जना संक्रमित रहेका छन् । एएनआई
प्रतिक्रिया