ह्युस्टन ,टेक्सस – टेक्ससको ह्युस्टनमा नेपालीहरुले सामूहिक फागु-पर्व (होली) मनाएका छन्। हिमालयन कल्चरल सेन्टरको आयोजना र नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) को सक्रियतामा ह्युस्टनस्थित पशुपतिनाथ मन्दिरमा नेपालीहरुको महत्वपूर्ण पर्व ‘फागु’ अर्थात होली मनाइएको हो।
कोरोना भाइरसका बारेमा मानिसहरुमा देखिएको डरका कारण नेपालीहरुको सहभागिता कम देखिए पनि झण्डै एकसय जना जति नेपालीहरु भने सक्रिय रुप मै फागुपर्व मनाउन भर्खरै मन्दिर परिसरमा बनाइएको अस्थाई पिकनिक स्थलमा भेला भएका थिए। संचार माध्यम र सामाजिक संजालहरुमा व्याप्त भ्रम र कोरोना भाइरस संक्रमणको त्रासले फागु पर्वमा आउने स्वभाविक उल्लासपूर्ण वातावरण र रौनकतामा केही कमी देखिए पनि उपस्थित सहाभागीहरुले आपसमा रंग लगाएर फागु मनाउन कुनै कन्जुस्याईं गरेनन्।
ह्युस्टनमा रहेका नेवार समुदाय ‘भिन्तुना’ समूहको सक्रियतामा स्वादिष्ट नेवारी परिकार ‘समेबजी’ उपलब्ध भएको फागुवपर्वमा सहभागीहरुले १० डलर तिरेर समेबजीको मज्जा लिंदै फागुपर्व मनाए। समेबजी बेचेर जम्मा भएको रकम भिन्तुना समुह कै सक्रियतामा मन्दिर परिसरमा निर्माण हुन लागेको पिकनिक पेभिलियन र सकर ग्राउण्ड निर्माणका लागि प्रयोग गरिने एनएएचका सल्लाहकार एवं भिन्तुना समूहमा सक्रिय ज्ञानेश्वर श्रेष्ठले हिमालय खबरलाई बताए।
होलीको लागि विशेषरुपमा बनाइएको सेतो टिसर्टमा सजिएर आपसमा भलाकुसारी गर्दै समेबजी खाइरहेकाहरुलाई देख्दा प्रवासमा कुनै ठूलो नेवारी भोज भैरहेको झझल्को दिइरहेको थियो। बालाबलिकाहरु पनि आपसमा रंग खेल्ने, पानी लगाएत स्न्याक्सलर रंगहरु बेचेर मन्दिरमा नयाॅ जडान भैरहेको चिल्ड्रेन पेभिलियनको लागि रकम संकलन गर्न सक्रिय देखिन्थे।
नेपालीहरु कोरोनाको डरले फागु खेल्न डराइरहेको बेला एउटा अमेरिकन परिवार भने ह्युस्टनमा हुने फागु (होली) पर्व हुने स्थानका बारेमा इन्टरनेट खोजी गरेर स्व-स्फूर्त रुपमा सहभागी हुन आएको थियो। आफ्ना साना छोरा-छोरी सहित सहभागी उक्त अमेरिकन परिवारले फागुको रंगमा मात्र रमाएन, समेबजीको मज्जा पनि लियो।
कोरोना भाइरस संक्रमणको संन्त्रासकाबीच अमेरिकाका बिभिन्न शहरहरुमा नेपाली संघ-संस्थाहरुले फागुको कार्यक्रम भटाभट रद्द गरेको समाचार आइरहेको परिप्रेक्ष्यमा ह्युस्टनमा भने एनएएचले फागुपर्वको औपचारिक कार्यक्रम जारी राख्ने निर्णय लिएको थियो। मानिसहरुको चासोलाई सम्वोधन गर्दै सार्वजनिक हितका लागि जारी गरिएको सन्दर्भ सामग्री सहित इमेल पठाएर कार्यक्रममा सहभागी हुने नहुने बारे स्वविवेक प्रयोग गर्न एएनएचले सबै नेपाली समुदायलाई अपील गरेको पनि थियो।
फागु कार्यक्रमलाई एनएएचका उपाध्यक्ष द्रोण गौतमले संचालन गरेका थिए। हातमा रंग लिएर ‘ह्याप्पी होली’ भन्दै रंग हावामा उडाउन उक्साइरहेका गौतमले बेला बेलामा नेपाली समुदायको आफ्नै मन्दिर परिसरमा निर्माण हुन लागेको नयाॅ संरचना पिकनिक पेभिलियन, फेन्सिंग, पार्किंग लट बिस्तार, चिल्ड्रेन पेभिलियन पूनर्निर्माण, सकर फिल्डका लागि आवश्यक रकम व्यवस्थापन गर्न जारी आर्थिक सहयोग संकलन अभियानमा सहभागी हुन नेपाली समुदायलाई आव्हान समेत गरिरहेका थिए। गौतमले सोही प्रयोजनका लागि एनएएचले ‘गोफण्ड मि’ एकाउण्ट समेत खोलेको जानकारी गराएका थिए।
मान्छेहरु सार्वजनिक जमघटमा जान डराइरहेका बेला तपाईंहरुले चाहिं किन सार्वजनिक रुप मै फागु पर्व मनाउने कार्यक्रम राखेको भन्ने हिमालय खबरको जिज्ञासामा एनएएचका अध्यक्ष डा. विष्णु नेपालको प्रतिक्रिया थियो- ‘मानिसहरु रोग संक्रमणको डरले सार्वजनिक जमघटमा जान हिच्किचाइरहेको एउटा कठिन परिस्थितिमा फागु पर्वको आयोजना गर्नु त्यति सहज काम थिएन। ह्युस्टनका सरकारी तथा स्थानीय सरोकारवाला निकायहरुले सार्वजनिक जमघटका कार्यक्रममा कुनै निषेधात्मक व्यवस्था नगरेको र संक्रमणको जोखिम मिडिया र सामाजिक संजालमा सुनिएजस्तो नपाइएकोले स्वविवेकले फागु मनाउने कार्यक्रममा सहभागी हुन हामीले नेपाली समुदायलाई अपील गरेका हौं।’ ’पोहोर-परार जस्तो संख्यामा सहभागिता नभए पनि उल्लेख्य मात्रामा सहभागीहरु आएको र नेपालीहरुको सांस्कृतिक पर्व फागु (होली) सामूहिकरुपमा मनाउन सकिएकोमा हामी खुसी नै हुनु पर्दछ’ , सिटी अफ ह्युस्टनको हेल्थ डिपार्टमेण्टमा जनस्वास्थ्य विज्ञ समेत रहेका
अध्यक्ष नेपालको थप तर्क थियो।









प्रतिक्रिया