नेपाल

बूढीगण्डकी बाढीप्रभावित क्षेत्रमा एक हजार बढीको हेलिकप्टरबाट उद्धार

बूढीगण्डकी बाढीप्रभावित क्षेत्रमा एक हजार बढीको हेलिकप्टरबाट उद्धार


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताएका छन् ।

बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गरिएको शर्माले बताए ।उनका अनुसार बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका ९६ जनाको उद्धार भएको थियो । सोमबार ३२१ र मङ्गलबार १८६ जनाको उद्धार भएको हो । बुधबार भने ४४१ जनाको उद्धार भएको सहायक प्रजिअ शर्माको भनाइ छ ।

Advertisement

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताएका छन् ।

बाढीले सडक सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलिकोप्टर प्रयोग गर्नुपरेको उनी बताउँछन् ।“राहत वितरण गर्नका लागि पनि हेलिकोप्टरकै प्रयोग भइरहेको छ । यताबाट उद्धार गर्न जाने हेलिकप्टरले राहतका सामग्री लाने र उताबाट आउँदा मान्छेलाई उद्धार गरेर ल्याउने गरेको छ”, उनले भने ।

रेडक्रसको सहयोग

यसैबिच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रतिकार्यलाई तीव्रता दिएको छ रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले बाढीको क्षतिको आकलनसहित तत्काल बाढी प्रतिकार्यमा स्वयंसेवक परिचालन गरिएको र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याउने काम भएको जानकारी दिए ।

उनले भने, “बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन गर्यौँ । उहाँहरूले पूर्वसूचना प्रवाहित गर्नुभयो । प्रतिकार्य जारी छ ।”बाढीको तत्काल प्रतिकार्यका लागि गैरखाद्य सामग्री सहित अन्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम भएको र यो कार्य जारी रहेको नेपाल रेडक्रसले जनाएको छ ।

महामन्त्री खनालका अनुसार हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकण र नेपाली सेनाको सहकार्य र समन्वयमा नै गैरखाद्य सामग्री त्रिपाल (तारपोलियन), म्याट्रेस, ब्ल्याङ्केट, डिग्निटी किटलगायत प्रभावित क्षेत्रमा पठाइएको छ । साथै अस्पताल सञ्चालन गर्न सकिने ठूला/ठूला दुईवटा टेन्ट पनि प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिए ।

महामन्त्री खनालले भने, “क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको र थप आवश्यक गैरखाद्य सामग्री आज सरकारको समन्वयमा पठाइँदै छ । प्रभावित क्षेत्रमा मानवीय सेवा पुर्याउन स्वयंसेवक तल्लीन छन् ।”