कैलाली । कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद् रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोकेको छ । न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधबार चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो ।
चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, गंगाराम डगौरा चौधरी र श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख छ ।
उनीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको कैलाली जिल्ला अदालतले जनाएको छ । तीमध्ये श्रवण चौधरी भने नाबालक भएकाले १० वर्षमात्रै जेल सजाय हुने फैसलामा उल्लेख छ ।
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही मुद्दामा चौधरी अहिले पुर्पक्षका लागि जेलमा छन् ।
पुर्पक्षका लागि जेलमै रहँदा उनले २०७४ को प्रतिनिधिसभा चुनावमा वारेशमार्फत उम्मेदवारी दिएका थिए । उनी कैलाली १ बाट भारी मत ल्याएर सांसद् निर्वाचित भएका थिए ।
उनले २ महिनाअघि संसद्को शपथ लिएका थिए । जन्मकैदको फैसला भएपछि उनको सांसद् पद स्वतः खारेज भएको छ ।
प्रतिक्रिया